डिआइजीसहित पाँच सय ५१ प्रहरीलाई कोरोना संक्रमण, दुई गणमा आइसोलेसन बन्दै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएको नेपाल प्रहरीमा संक्रमण बढिरहेको छ । शनिबारसम्ममा डिआइजीसहित पाँच सय ५१ जनामा कोभिड– १९ देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य संक्रमित सबै प्रहरीको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीहरू डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए । 

संक्रमित हुने प्रहरीमा एक नायब महानिरीक्षक (डिआइजी)सम्म छन् । प्रहरी अस्पताल महाराजगन्जमा कार्यरत एक डिआइजी (चिकित्सक) मा संक्रमण देखिएको हो । यस्तै स्याङ्जा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङ्जाका प्रहरी प्रमुख भने निको भइसकेका छन् । 

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० बेडको आइसोलेसन बनाइएको छ । जहाँ करिब ४० प्रहरी कार्यरत छन् । सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ । संक्रमण बढ्दै गएकोले सर्वसाधारणलाई समेत त्यहाँ राख्ने गरी आइसोलेसन वार्ड बनाउन लागिएको हो । 

सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल– २ को अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ हाल १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी छ ।

source : nayapatrikadaily

You can share this post!