कोरोना भाइरसको नियन्त्रणमा नेपाली सेनाले कस्तो भूमिका निर्वाह गर्दैछ ?

काठमाण्डु – कोरोना भाइरसको संक्रमण, रोकथाम तथा व्यवस्थापनमा नेपाली सेना अग्रपंक्तीमा रहेर काम गरिरहेको छ । नेपालमा तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न नेपाली सेनाले सरकारको निर्देशनअनुसार काम गरिरहेको छ ।

सेनाले सरकारले दिएका चार/पाँच किसिमका कामहरु जिम्मेवारीका साथ निर्वाह गरिरहेको छ । सरकारले भारत र चीनसँगका १० वटा सीमा खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि २० वटा खुला रहेका सीमा कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिम रोक्न १० वटामा सिमित गरेको हो ।

१० वटा नाकामा नेपाली सेनाको टोली पनि परिचालित छ । सीमामा हुने आवागमनलाई व्यवस्थित गर्ने, भारतबाट आउनेलाई होल्डिङ्ग सेन्टरमा राख्ने र आफ्ना जिल्लामा लग्ने काम सेना गर्दै आएको छ ।

त्यस्तै क्वारेन्टाइनको सुरक्षामा पनि नेपाली सेनाको टोली खटिएको छ । सेनाले नेपालभरी क्वारेन्टाइनमा संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ ।

नेपाली सेनाका सहायक रथी प्रवक्ता सन्तोष वल्लभ पौडेलले तेस्रो मुलुकबाट आएका यात्रुहरुलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजाने र उपत्यकाका ७ वटा होल्डिङ सेन्टर सेनाको मातहतमा रहेको जानकारी दिए ।

‘सेनाको टोलीले स्थानीय तहसँग मिलेर काम गर्दै आएको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने कायर्य गरिरहेको छ’, प्रवक्ता पौडेलले भने, ‘स्वाब कलेक्सन गर्ने । स्वास्थ्य जन्य सामाग्रीहरु सेनाको हेलिकोप्टर र स्काई ट्रकबाट सम्बन्धित स्थानमा पुर्याउँदै आएका छौं ।’

सेनामा कोरोना भाइरसको जोखिमः

हालसम्म नेपाली सेनामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जोखिमपूर्ण क्षेत्रमा खटिनुपर्ने भएकाले सेना कोरोना संक्रमणको जोखिममा रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

उनले संक्रमितमध्ये ७८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् भने १४६ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिए । संक्रमित सबैको अवस्था सामान्य रहेको उनले जानकारी दिए । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा खटिएका दुई जना सेनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘सुरुका दिनमा सावधानी अपनाउन नजान्दा काठमाण्ड र वीरगञ्जका दुई जना संक्रमित हुनुभयो । तर, अहिले हामीले उच्च सावधानीका साथ शव व्यवस्थापनको काम गरिरहेका छौं’, प्रवक्ता पौडेलले भने ।

प्रवक्ता पौडेलका अनुसार नेपाली सेनामा क्वारेन्टाइन र कारागारबाट कोरोना सरेको छ । क्वारेन्टाइनमा खटिएका सैनिक सबैभन्दा बढी संक्रमित भएको उनको भनाई छ । यसअघि सरकारले ठूला परियोजना र कारागारमा सेना परिचालन गर्ने निर्णय गरेको थियो ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सीमा र क्वारेन्टाइनमा खटाउने निर्णय भएसँगै सेना कारागारको सुरक्षामा खटिएको हो । प्रवक्ता पौडेलले कारागारबाट सेनामा कोरोना संक्रमण सरेको पुष्टि गरे ।

ब्यारेकमा सावधानीका उपाय

सेनाले आफ्ना ब्यारेकमा रहेका सकलदर्जाहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन उच्च सावधानी अपनाएको जनाएको छ । प्रवक्ता पौडेलले ब्यारेकलाई कोरोना संक्रमणबाट जोगाउन स्वास्थ्य मन्त्रालयले जारी गरेका प्रोटोकल अवलम्बन गरिएको जानकारी दिए ।

‘हामीले ब्यारेक भित्र स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार सुरक्षाका उपायहरु अपनाएका छौं’, प्रवक्ता पौडेलले भने, ‘स्याजिटाइटर, मास्कको प्रयाग गर्ने, भौतिक दूरी कायम राख्ने, ब्यारेकलाई डिस्इन्फेक्टेड गर्ने, ब्यारेकमा क्वारेन्टाइन निर्माण, बाहिर स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार सावधानी अपनाउने, पिपिईको प्रयोग गर्ने काम गरेका छौं ।’

कोरोना भाइरसको नियन्त्रणसँग नेपाली सेनाले विपद् व्यवस्थापनमा पनि अग्रस्थानमा रहेर काम गरिरहेको छ । प्रवक्ता पौडेलले बाढी पहिरोमा बेपत्ताहरुको उद्धार, घाइतेको उपचार, पहिरोले अवरुद्ध बाटोघाटो खोल्ने, विभिन्न स्थानमा सडक निर्माढा गर्ने काममा पनि सेना खटिरहेको जानकारी दिए ।

विपद व्यवस्थापनको काम, घर सार्ने काम, बाढीमा फसेका मानिसहरुको उघार कार्यमा पनि सेनाले अग्र स्थानमा रहेर काम गर्दै आएको छ ।

source : kathmandupati.com

You can share this post!