दाहसंस्कारपछि पूर्वमन्त्री बस्नेतका बाबुमा कोरोना पुष्टि, १५ सय मलामी सहभागी

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका बुवामा निधनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

काठमाण्डुको टिचिङमा मृत्यु भएका पूर्वसञ्चारमन्त्री बस्नेतका बुवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालले कोरोना परीक्षणका लागि बस्नेतका ८४ वर्षीय बुवा खड्गबहादुर बस्नेतको स्वाब संकलन गरेको थियो । स्वाबको पीसीआर परीक्षणका क्रममा मंगलबार नतिजा पोजेटिभ आएको बस्नेतको गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले पुष्टि गरेको छ ।

नगरपालिकाले नेता बस्नेतका बुवामा निधनपश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाहसंस्कारमा सहभागी भएका सबैलाई घरमै क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले प्रेस विज्ञप्ति जारी गरेर नगरपालिकाको पूर्वको वडा नम्बर ४, वडा नम्बर २ कर्थली बुदेपा, उत्तरपट्टी वडा नम्बर ३ को खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सिमाना सम्मको चार किल्लाभित्र मानिसहरु आवत– जावत नगर्न आग्रह गरेकी छन् ।

विज्ञप्तिमा उक्त क्षेत्रमा सवारी साधन चलाउन पूर्णरुपमा निषेध गरी व्यापार, व्यवसायलगायतका अन्य क्रियाकलाप बन्द गरी सिल गर्ने निर्णय गरिएको पनि उल्लेख छ । दाहसंस्कारमा करिब १५ सय जना सहभागी भएका थिए ।

त्यस्तै पूर्वमन्त्री बस्नेतले शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उनको सुरुमा पीसीआर नेगेटीभ देखिएको बताएका छन् ।

‘डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं’, उनले भनेका छन्, ‘दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहासंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं ।’

source :kathmandupati.com

You can share this post!