नेताले बैठक बोलाउन दबाब दिएपछि प्रधानमन्त्रीको जवाफ: अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो !

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले कोरोना भाइरसको महामारीका बेला केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेको भन्दै असन्तुष्टी जनाएका छन् । नेकपाका नेताहरुले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउन दबाब दिँदै आइरहेका छन् ।

मंगलबार बालुवाटारमा विज्ञहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सरकारको नियमको उल्लंघन गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरिएको बताए ।

‘गैरजिम्मेवार मान्छे खोज्न अन्त जानुपर्दैन मेरै पार्टीमा छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरून्त चाहियो भनेर भनिरहेका छन् । कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर बैठकचाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ’, बैठकमा उनले भने, ‘स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो । त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरबाही, बेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृति निकै व्यापक रूपमा देखिन्छ ।’

त्यस्तै प्रधानमनत्री ओलीले सञ्चारकर्मीहरुमाथि पनि आक्रोश पोखेका छन् । उनले कोरोना महामारीको बेला सञ्चारमाध्यमले सरकारका कामको विरोध गरेको बताए ।

‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाए पनि विरोध गर्ने’, प्रधानमन्त्रीले भने, ‘क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने । ’

प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा बसेर सरकार नखोज्न पनि चेतावनी दिएका छन् । उनले बौद्धिक वर्गहरुले खै कहाँ छ सरकार ? भन्ने गरेको भन्दै उनले गाउँमा जान आग्रह गरेका छन् ।

‘बौद्धिक जगतको टिप्पणीहरु सुन्छु–कहाँ छ सरकार ? काठमाण्डुमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकारभन्दा कता देखाउने ?, उनले भने, ‘त्यो रेस्क्यू गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन् ।’

source : kathmandupati

You can share this post!