प्रचण्डलाई भीम रावलले भनेः ओलीसँग तपाईंको पदको झगडामा म सामेल छैन

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । मंगलबार ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्णयमा स्थगित गरिएको भन्दै अर्को समूहका नेताहरु असन्तुष्ट रहेका छन् ।

बैठक स्थगित भएको सूचना अन्तिम समयमा दिएपछि अधिकांश नेताहरु बालुवाटार पुगिसकेका थिए र केही पुग्नेक्रममा नै थिए । अध्यक्ष प्रचण्डसहितका केही नेताहरु बालुवाटार नपुग्दै माधव नेपाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु बालुवाटारमा नै थिए ।

सोमबार अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल , झलनाथ खनाल समूहका नेताहरको भेलाले स्थायी कमिटी बैठक नरोक्ने निर्णय गरिसकेको थियो । सोही अनुरुप नेताहरु बालुवाटार पुगेका हुन् ।

ओली समूहका नेताहरुले बैठक कुनै पनि हालतमा बस्न नसक्ने बताएपछि अध्यक्ष प्रचण्ड र नेता खनाल प्रधानमन्त्री भेट्न गएका थिए । भेटपछि अध्यक्ष प्रचण्डले नेता नेपाल र आफू समूहका नेताहरुलाई ब्रिफिङ गरेका छन् । उनले अनौपचारिक रुपमा नेताहरुसँग बैठक बसेका हुन् ।

उनले प्रधानमन्त्रीले आफूलाई एकल अध्यक्ष जस्तो ठान्ने गरेको गुनासो पोखेका थिए । त्यस्तै ब्रिफिङमा सहभागी नेता भीम रावलले ओली र प्रचण्डबीचको झगडामा आफूलाई नपार्न आग्रह गरेका छन् ।

उनले दुवै अध्यक्ष पदीय झगडा गर्ने अनि नेताहरुको टाउको गन्ने काम भएको भन्दै सचेत गराएका हुन् ।

‘ओलीसँग तपाईंको हुने पदको झगडामा म सामेल छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन,’ उनले अध्यक्ष प्रचण्डलाई भने ।

त्यस्तै उनले उपाध्यक्ष वामदेव गौतमको प्रस्ताव ठिक भएको बताएका छन् । उपाध्यक्ष गौतमले आज नेकपा विवाद साम्य पार्न दुवै अध्यक्षका लागि मध्यमार्गी सुझाव दिएका थिए । सोही विषयमा नेता रावलले पनि समर्थन जनाएका हुन् । नेता रावलले पदीय विवादले आफूहरु मुख देखाउन लायक नभएको बताएका छन् ।

‘वामदेवको प्रस्ताव राम्रो छ । पदका लागि यो झगडाले मुख देखाउन लायक भएनौ, ओलीसँग पदको विभाजन गर्ने मात्रै सोच्नु भो’, उनले भने ।

source : kathmandupati

You can share this post!