नेकपा मुठभेडउन्मुख :ओलीलाई पेलेरै जाने मनस्थितिमा प्रचण्ड–नेपाल पक्ष

काठमाण्डु – लामो समयदेखि विवादमा रुमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक भोलि मंगलबारका लागि तोकिएको छ । तर पटक–पटक स्थगित हुँदै आएको बैठक बस्ने÷नबस्ने कुनै निश्चित छैन ।

पार्टीमा शीर्ष नेताहरूबीच सहमति हुन नसक्दा नेकपा स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित हुँदै आएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरूले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि चुलिएको विवाद उत्कर्षमा छ ।

पटक–पटक स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिको प्रयास भए पनि ओली–प्रचण्ड दुवै पक्ष आ–आफ्नै अडानमा देखिएका छन् । दोस्रो तहका नेताले गरेको सहमतिको प्रयास र समन्वय समेत सफल हुन सकेको छैन ।

गत शुक्रबार काठमाडौंमा आयोजित पुष्पलाल स्मृति समारोहको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गम्भीर संकेत गरेका छन् । उनले भने, ‘पार्टी संकटमा छ । छैन भनियो भने त्यो गलत हुनेछ । अहिले बैठक चलिरहेको छ । मैले सार्वजनिक रुपमा पहिले पनि भनेको छु, पार्टी संकटमा छ । ठीकठाक छ भनेर मैले भनें भने त्यो सत्य हुँदैन । त्यो साँचो होइन । किनकि हाम्रो पार्टीको बैठक चलिरहेको समयमा निवार्चन आयोगमा नेकपा एमाले नामको अर्को पार्टी दर्ताको प्रक्रिया हाम्रो पार्टीका अर्का अध्यक्षको पहल र सक्रियतामा भएको छ । त्यसकारण त्यसले सकंटकलाई व्यक्त गरेकै छ । यो सबैले देखेकै कुरा हो ।’

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि पार्टीभित्र आलोचना र विवाद हुने गरेपनि सार्वजनिक रुपमा प्रचण्डले ओलीमाथि आक्षेप लगाएको यो पहिलो पटक हो । प्रचण्ड त्यो कार्यक्रममा सहभागी हुनुअघि बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए । तर छलफल सौहार्द नभएपछि प्रचण्ड आक्रामक भएका नेकपा स्रोतले जनाएको छ । त्यही कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले समेत नेकपा पार्टी नफुट्ने र कोही चोइटिएर गए फरक नपर्ने अभिव्यक्ति दिएका छन् ।

प्रचण्ड–नेपाल पक्षको आक्रामकता अब भाषणमा मात्रै सीमित हुने छैन । भोलि मंगलबारका लागि तोकिएको स्थायी कमिटी बैठकअघि रणनीति तय गर्न सोमबार प्रचण्ड निवास खुमलटारमा आयोजित छलफलले भोलिको स्थायी कमिटी बैठक चलाउने र एजेन्डा अनुसार अगाडि बढ्ने मनस्थिति बनाएको छ ।

प्रचण्ड–नेपाल पक्षले सरकारले पार्टीको नीति अनुसार काम गर्न नसकेको, जनतामा अलोकप्रिय भएको, विभिन्न अनियमिततामा मुछिएको लगायत आरोप लगाउने गरेको छ भने प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खोजेको भन्दै घुमाउरो पारामा शीर्ष नेतामाथि विदेशी इशारामा काम गरेको आरोप लगाउने गरेका छन् ।

ओली पक्षले शीर्ष नेताबीच सहमति भएपछि मात्रै स्थायी कमिटी बैठकमा छलफल र निर्णय गर्नुपर्ने अडान लिएपछि यसअघि स्थायी कमिटी बैठक स्थगित हुँदै आएको हो । तर प्रचण्ड–नेपाल पक्षले भोलिको बैठक नरोक्ने निष्कर्ष निकालेपछि अब नेकपा मुठभेडउन्मुख देखिएको छ ।

पार्टीमा सहमति नभई ओलीको इच्छा विपरीत भोलि प्रचण्ड–नेपाल पक्षले बैठक चलाए ओली पक्षका स्थायी कमिटी सदस्य बैठकमा सहभागी नहुने स्रोतले जनाएको छ । ओली पक्षको सहभागिता विना स्थायी कमिटी बैठकबाट हुने निर्णयलाई एकलौटी करार गर्न सकिने ओली पक्षको रणनीति छ । स्थायी कमिटी बैठकबाट अप्रिय निर्णय भएमा पार्टी फुटको अवस्थासम्म आउन सक्ने संकेत ओलीले यसअघि नै प्रचण्डलाई दिइसकेका छन् ।

बालुवाटारबाट ओली पक्षले भने प्रचण्ड–नेपाल पक्षबाट नेताहरू आफ्नो पक्षमा ल्याएर पार्टीमा बहुमत पु¥याउने कोसिस गरिरहेको छ । त्यसका लागी प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता नेकपाका प्रभावशाली नेताहरु भिम रावल,सुरेन्द्र पाण्डे, शक्ति वस्नेत, वर्षमान पुन,घनश्याम भुसाल र योगेश भट्टराईलगायतसंग भेटवार्ता गरेका छन् ।

यता नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि पूर्व माओवादीमा आफ्नो पकट खुस्कदै गएपछि टोपबहादुर रायामाझी र मणि थापालगायतका नेतासंग एक्ला एक्लै भेटवार्ता सुरु गरेका छन् । उनले पुर्व माओवादी समुह एकजुट हुनुपर्नेमा भेटमा जोड दिने गरेका छन् ।

प्रधानमन्त्री निकट नेताहरु प्रदिप ज्ञवाली र शंकर पोखरेलले पार्टी प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायण श्रेष्ठसंग भेटेर प्रधानमन्त्री ओलीलाई सहयोग गर्न आग्रह गरेको स्रोत बताउंछ ।

पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा प्रचण्ड–नेपाल पक्षको बहुमत छ । प्रचण्ड–नेपाल पक्षले पार्टीलाई विधिबाट सञ्चालन गर्न अनिर्णित रहनुभन्दा बहुमतबाटै निर्णय गर्ने नीति लिएको स्रोतले जनाएको छ ।

source : kathmandupati

You can share this post!