एउटा फुलन जन्मियोस्

विरेन्द्र शाह

उनिहरु लाई लाग्दथ्यो
बगैंचा भित्रका सबै फूलहरुलाई
मनपरी तरिकाले
क्रुरता र निर्दयीता पुर्ण ढंग बाट
ऐया पनि गर्न नदिई चुडाल्न सक्छ्न !

उनिहरु सोच्दथे
बगैंचा भित्र बस्न पाउनुको अर्थ
फूलहरु चुडाल्ने हक पाउनु हो ,
त्यो सङ्गै
बगैंचा भित्र फूलेका फूलहरु सङ्ग
जस्तोसुकै खेलवाड गर्न पाउनु पनि हो !

आखिर….
ती फूलहरु लाई
जसले घाम , पानी र चिसो नभनी
हुर्कायो , बढायो र स्याहार गर्यो ,
त्यो फूल चुडिनुले
ती माली कति बेचैन भए होलान
र तडपिए होलान ,
त्यो पिडा र भाव लाई व्यक्त गर्न
सायदै कुनै साहित्यले समेटन सक्ला !

खासमा…
उनीहरुको भेट
बगैंचा भित्र फुल्दै गरेकी
फूलन सङ्ग हुन बाँकी थियो
र पछि भयो ,
अनि
फूलले पनि विद्रोह गर्छ भन्ने कल्पना नगरेकाहरु ले
एउटा फूलको विद्रोह पनि देखे !

हो….
त्यस्तै एउटा फूल
अर्थात् फूलन
यो मुलुक भित्र पनि जन्मियोस ,
जसले बिक्री भएका अड्डा अदालत नधाई
आवश्यक परे आफ्नै अदालतमा फसैला गरोस ,
जसले हरेक दुखाईमा ऐया गरोस
बादल जसरी गर्जिने
र बिजुलि जसरी चम्किने गरि चिच्याओस
अनि…
उसको चिच्याहटले सबै जागृत होउन !

You can share this post!