कञ्चनपुरमा उपभोक्ता समितिको मनपरी भएपछि स्थानीयद्वारा वडा कार्यालय घेराउ

रोशन भट्ट 

धनगढी: कञ्चनपुरमा गत आर्थिक वर्षको विकास निर्माणका योजना कार्यान्वयन गर्दा उपभोक्ता समितिले मनपरी गरेको आरोप लागेको छ। जिल्लाको कृष्णपुर नगरपालिकाका अधिकांश वडाहरुमा आर्थिक वर्षको अन्त्यमा फर्जी उपभोक्ता समिति गठनगरी मनपरी काम गरेर भुक्तानी लिएको स्थानीयको आरोप छ। 

उपभोत्ता समिति, कर्मचारी तथा स्थानीय जनप्रतिनिधीको मिलोमतोमा विकास निर्माणका योजनाहरुमा झारोटार्ने काम भएको स्थानीयले बताएका छन्। सडक ग्राबेलका योजनामा काम नगरी भुक्तानी दिएको स्थानीय गणेश बहादुर ऐरले बताए। ‘उपभोक्ता समिति, प्रविधिक तथा स्थानीय जनप्रतिनिधीको मिलेमतोमा विकास निर्माणका योजनाहरु कार्यान्वयन भएका छन्’ उनले भने, ‘अधिकांश योजनाहरुमा झारोटार्ने काम भएको छ।’ 

कृष्णपुर नगरपालिकाको वडा ७ र ८ मा भने यो समस्या बढी देखिएको छ। ४/५ योजनाका लागि एकै जनालाई उपभोक्ता समितिको अध्यक्ष बनाई राज्यकोषको दुरुपयोग भइरहेको स्थानीयले बताएका छन्। असारको अन्त्यमा आएर स्थनीयलाई खबर नै नगरी जनप्रतिनिधी निकटका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमिता गरेको अर्का स्थानीय अमरबहादुर विष्टले बताए। ‘असारको अन्त्यमास्थनीयलाई खबर नै नगरी जनप्रतिनिधी निकटका व्यक्तिलाई उपभोक्ता समितिमा राखिएको रहेछ’ उनले भने, ‘स्थानीय सडकमा एक÷दुई टिप्पर ग्राबेल हालेपछि मात्रै हामीलाई थाहा भयो।’ 

सो विषयमा थप बुझ्न खोज्दा एक लाखका योजनामा पनि दुईदेखि चार टिप्पर मात्रै ग्रबेल हालेको देखिएको विष्टले बताए। कृष्णपुरको वडा नम्बर ७ र ८ मा पर्ने साना योजनाहरुमा जनप्रतिनिधी र प्रविधिक कर्मचारीको मिलेमतोमा लाखौं खर्च लाग्ने भएपनि थोरै बजेटमा काम गरेजस्तो देखाएर बजेटको दुरुपयोग गरेको देखिएको छ। 

टेकबहादुर विष्टको घरसम्मको बाटोमा ग्राबेल हाल्न एक लाख, शक्तिपुर प्रेम चौधरीको घर नजिक खानेपानी योजनामा ७५ हजार, मानबहादुर रोकायाको घरको बाटो ग्राबेलमा ७५ हजार, शान्तीपुर वडा नम्बर ७ जोड्ने बाटो निर्माणमा ७५ हजार खर्च भएको कागजमा देखाएपनि फिल्डमा काम नभएको कैलाशबहादुर बलायरले बताए।

स्थानीयद्वारा वडा कार्यालय घेराउ 
नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधीहरुले स्थानीयलाई जानकारी नै नगराई समिति गठन गरेर कागजी रुपमा काम समेत सम्पन्न गरेको देखाएपछि सोमबार स्थानीयले वडा नम्बर ८ को कार्यालय घेराउ गरेका छन्। 

उता कृष्णपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष अमरसिंह बडायकले पनि कतिपय सडकमा ग्रबेल हाल्ने काम सम्पन्न नभएको भन्ने गुनासो आएको बताएका छन्। ‘कतिपय सडकहरुमा कम ग्राबेल गयो भन्ने कुरा आएको छ। कति हाल्ने हो, कति गयो भन्ने विषयको अध्ययन प्राविधिकले गर्दछन्। सबै समस्याको समाधान गर्नतर्फ हामी लागेका छौं।’ वडाध्यक्ष बडायकले भने। 

दिनेश खबर बाट

You can share this post!