ओलीलाई अध्यक्ष प्रचण्ड र माधव नेपालले भनेः प्रधानमन्त्रीबाट राजीनामा दिनूस्

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय भेटमा अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा नदिने अडान लिइरहेका बेला पुनः राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए । उनीहरुले प्रधानमन्त्री ओलीलाई पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

पार्टीभित्रको समस्या समाधानका लागि छलफलका लागि बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र नेता नेपालले ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

त्यस्तै नेताहरुबीच पावर सेयरिङको विषयमा भएको छलफल भएको छ । जसअनुसार प्रचण्ड एकल अध्यक्ष र ओली सेरेमोनियल अध्यक्ष रहनेछन् । सहमतिअनुसार अध्यक्ष र प्रधानमन्त्रीको पावर बाँडफाँट हुनेछ । साथै ओली प्रधानमन्त्री रहने अवस्थामा सरकारका काम कारबाहीहरु नेता नेपालसँग परामर्श गरेर अगाडि बढ्ने विषयमा पनि सहमतिको प्रयास भएको छ ।

नेताहरुबीच सरकारका ५० प्रतिशत मन्त्री र मुख्यमन्त्री फेरबदल गर्ने विषयमा पनि छलफल भएको थियो । तर, यो विषयबारे नेताहरुबीच सहमति हुन बाँकी छ ।

गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । तर, प्रधानमन्त्रीले राजीनामा दिने भए महाधिवेशन र आगामी निर्वाचनसम्म कुर्न आग्रह गर्दै आइरहेका छन् ।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समिति सदस्यहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादबीच प्रधानमन्त्रीको राजीनामा माग्ने सहमति भएको थियो ।

source :kathmandupati

You can share this post!