प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन रोकिन्न, बहुमतले कारबाही गर्नुस्

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि चल्दै आएको वान अन वान वार्ता विफल हुने संकेत देखिएको छ । बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार प्रचण्डले बुधबार विहानै पार्टी महासचिव विष्णु पौडेललाई पनि सडकमा भइरहेको प्रदर्शनमा सहभागी नहुन सर्कुलर गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री ओली सहमत नभएका कारण पौडेलले सर्कुलर जारी गरेनन् ।

अपराह्न भएको भेटमा प्रचण्डले सडक प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका थिए । तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न लागेपछि युवा विद्यार्थीले प्रदर्शन गरेको भन्दै रोक्नु नपर्ने बताएका छन् ।

पार्टीको विवाद हल गर्ने विषयमा पनि दुई अध्यक्षबीच सकारात्मक सम्वाद हुन सकेन । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अरु विषयमा कुराकानी गर्न सकिने पुरानै अडान राखेका छन् । ‘महाधिवेशनपछि अध्यक्ष हुनु होला, अर्को चुनावपछि प्रधानमन्त्री हुनु होला’, ओलीको भनाइ उध्रित गर्दै स्रोत भन्यो ।

प्रचण्डको जोड भने जेठ २ को सहमति (आलोपालो प्रधानमन्त्री र अध्यक्ष)मा थियो ।

तर ओलीले दुबै पद नछाड्ने बरु पार्टीको बहुमतले आफूलाई कारबाही गर्न चुनौती दिएका छन् । एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएकोतर्फ संकेत गर्दै प्रचण्डले पार्टी फुटाउनै खोजेको हो त भन्ने प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले भने  ‘पार्टी बैठक राखेर कारबाही गर्नुस्, त्यसपछि मैले के गर्छु भन्ने देखिहाल्नु हुन्छ नि’ भनेको स्रोतको दाबी छ ।

नेताहरुका अनुसार दुई नेता भोलि फेरि बैठक बस्ने नबस्ने तय समेत नगरी उठेका छन् । पछिल्ला केही भेटमा ठोस सहमति नभएपनि दुरी बढ्ने गरी सम्वाद नभएको उल्लेख गर्दै नेकपा स्रोतले भन्यो, ‘आजको छलफल त्यसो हुन सकेन ।’
दुई नेताबीच सहमतिको प्रयास जारी रहेका कारण नेकपाको स्थायी कमिटी बैठक भने सर्दै आएको छ । पछिल्लो पटक बुधबारका लागि बोलाइएको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । तर पर्सिसम्म सहमति जुट्ने सम्भावना कम छ ।

source : onlinekhabar.com

You can share this post!