‘यही हो साइकल सहर बनाउने अन्तिम अवसर’

फ्रान्सको पेरिस सहरलाई सन् २०२४ सम्म साइकलमैत्री बनाउने वाचा मेयर एन हिडाल्गोले गरेकी थिइन्। कोरोना लकडाउन त्यो वाचा पूरा गर्ने अवसर बनेर आयो।

हालै पेरिसमा ६५० किलोमिटर लामो साइकल लेन बन्यो, स्ट्यान्डहरू निर्माण भए। साइकल किन्न चाहने पेरिसबासीले ५ सय युरो र पुरानो साइकल मर्मत गर्न चाहनेले ५० युरो खर्च पाउन थाले।

पेरिस मात्र होइन इटाली, बेलायत, कोलम्बियाको राजधानी बोगटा लगायत अन्य राष्ट्र र सहरले पनि लकडाउनलाई साइकल विस्तार गर्ने सुनौलो अवसर बनाए।

नेपाल साइकल सोसाइटीका उपाध्यक्ष सोम रानालाई हामी भने यो कुरामा चुकेको महशुस हुन्छ। भौतिक दुरीको कुरा उठिरहँदा सरकारले साइकलमा कुनै परियोजना नबनाएको देखेर उनी निरास छन्।

‘यो समयमा त साइकलबारे धेरै पूर्वाधार र सञ्जाल बनाउन सकिन्छ। अहिले देखिएझैं सुन्दर वातावरण कायम राखिरहने हो भने साइकल लेन र पैदलमार्गमा जोड दिनुपर्छ,’ उनले भने, ‘लकडाउनमा गाडी पूर्ण बन्द भएका बेला त्यो समयलाई अन्य देशलेझैं मौकामा चौकाको रूपमा लिन सकिन्थ्यो। तर त्यस्तो देखिएन।’

सोम पहिले-पहिले रमाइलोका लागि साइकल चलाउँथे। सहरी योजना र विकास पढ्न थालेपछि झनै रूचि बढ्यो। हङकङ विश्वविद्यालयबाट ‘सहरी डिजाइन’ मा स्नातकोत्तर गरेका रानाको थेसिस ‘काठमाडौं राइड ग्रीन’ शीर्षकमा थियो। थेसिसको निष्कर्ष छ- काठमाडौंजस्तो सानो सहरमा साइकल नै सजिलो र सहज सवारी हो।

अध्ययन सकेपछि उनी नेपाल साइकल सोसाइटीसँग जोडिए। त्यसयता उनी ‘साइकल चलाऔं अभियान’ मा सक्रिय छन्।

सोमका अनुसार यो समयमा सरकारले ‘पप-अप’ लेनहरू बनाउन सक्छ जसका लागि धेरै पैसा खर्च हुँदैन। यो भनेको अस्थायी लेन हो। केही डिभाइडर वा चिह्नहरू कोरेर साइकललाई लेन छुट्ट्याइन्छ। परिणाम राम्रो भए भविष्यमा दिगो लेन बन्न सक्छन्।

सार्वजनिक गाडी नचलेको र सबैको निजी सवारी नहुनाले सस्तोमा पाइन सक्ने साइकल काठमाडौं उपत्यका र अन्य केही सहरमा यातायातको विकल्प बन्न सक्थ्यो। सरकारले जोर-बिजोर अवधारणा ल्याएर कारमूखी सोच राखेको उनको ठम्याइ छ।

यस कारण उनीहरूले साइकल सोसाइटीमार्फत ‘साइकल साथी’ नामक अनलाइन कार्यक्रम थालेका छन्। यसमा सेलेब्रेटीदेखि सडक डिभिजन कार्यालयका सरोकारवाला, मेयर, विज्ञ, साइकल लेनबारे निर्णय लिने मान्छेहरूसँग अनलाइन छलफल हुन्छ। साइकलबारे के–कस्ता समस्या छन् र समाधानका उपाय के हुन् भनेर खोजी प्रयास हुन्छ।

साइकल अभियानमै सक्रिय अर्को संस्था ‘स्टोरी साइकल’ ले साइकलबारे ‘मोबिलिटी प्लस’ अभियान थालेको छ। यसअन्तर्गत साइकल किन्न चाहनेलाई विक्रेतासम्म जोडिदिने काम स्टोरी साइकलले गर्छ।

साइकल किन्ने सोच भएका तर कस्तो किन्ने ‘आइडिया’ नभएकालाई यसले सल्लाह दिन्छ। नजिकैका साइकल पसल खोजिदिनेदेखि लकडाउनका कारण लिन जान नसक्नेलाई घरसम्म पुर्‍याइदिन्छ। साइकलका पाटपुर्जा, आवश्यक सामग्री पुर्‍याउनेदेखि साइकल स्ट्यान्ड बनाउन पनि सघाउँछ। यसका लागि स्टोरी साइकलले ‘नेपाल माउन्टेन बाइक टुर्स’ र ‘जिडी ल्याब एन्ड रिसर्च’ सँग सहकार्य गरेको छ।

यो सुविधाका लागि गुगलमा एउटा निवेदन भरेर दर्ता गर्नुपर्छ। त्यही अनुसार मान्छेको चाहना हेरेर सुविधा दिइन्छ।

‘सरकारले लकडाउन खुकुलो बनाउने नियम ल्याउँदा साइकललाई विशेष सुविधा गरिदिए हुन्थ्यो भनेर हामीले लबिङ गरिरहेका थियौं। तर त्यति चासो देखिएन,’ स्टोरी साइकलका सदस्य सौरभ ढकालले भने, ‘त्यसैले हामीले नै साइकलको सानो अभियान गरेका हौं। सरकारको व्यवहार परिवर्तन गर्न सकिन्न। कर्पोरेट अफिसहरूले भने आफ्नो सेवा–सुविधामा परिवर्तन गर्न सक्छन् कि भन्ने हाम्रो आशा हो।’

अहिले विदेशबाट साइकल आयात भएको छैन। गियर र माउन्टेन बाइकहरूमा रोजीछाडी विकल्प कम छ। यस्ता साइकल जति पाइन्छन्, स्टोरी साइकलले सूची तयार गरेको छ।

सस्ता, चिनियाँ र पुराना साइकल बिक्रेतासँग यहाँबाट जोडिन सकिन्छ। मान्छेले साइकलमा चासो देखाइरहेको जानकारी दिँदै सौरभले भने, ‘अहिले नै साइकलमा स्विच गर्ने राम्रो समय हो भनेर धेरैजना आउनुभएको छ।’

उनले थपे, ‘सरकार भने कारवादी समाजतिर उन्मुख छ। अफिस खोल्ने तर जाने कसरी? हिँडेर त सबै ठाउँ पुगिन्न। सबैको निजी गाडी छैन। त्यसैले मान्छेलाई आफ्नो सवारी आफैं जुगाड गर भनेजस्तो हो।’

लेन बनाउने र साइकल किन्ने अवधारणाहरू बनाइदिएको भए यसलाई दिगो बनाउन सकिन्थ्यो। तीन महिना लकडाउनमा साइकल चलाएकालाई विस्तारै बानी पर्न सक्थ्यो।

‘तीन महिना साइकल चलाएको मान्छेलाई लेन भयो भने त गाडी, मोटरसाइकलभन्दा साइकल नै रमाइलो लाग्न सक्थ्यो,’ उनले भने।

मोबिलिटी प्लस अभियानको उद्देश्य मान्छेलाई साइकल चलाउन बानी पार्नु पनि हो। सौरभका अनुसार कार्यालयहरूले पनि साइकलमा प्रोत्साहन गर्न सक्छन्। किन्ने व्यवस्थादेखि साइलक चलाउँदा असिनपसिन भएको ज्यान कार्यालय आएर नुहाउने ठाउँसम्म बनाउन सक्ने उनी बताउँछन्।

कोरोनाको डरबीच पनि साइकल उपयुक्त माध्यम हुन सक्छ। दुई र चार पाङ्ग्रेमा थप मान्छे राख्न सकिने हुँदा संक्रमण जोखिम धेरै हुन्छ। साइकलले भौतिक दुरी कायम गर्न मद्दत पुग्छ।

पछिल्लो समय ललितपुर महानगरपालिकाले २५ किलोमिटर साइकल लेन बनाउनेबारे दोस्रो चरणको अध्ययन गरिरहेको छ। पहिलो चरणअन्तर्गत थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मंगलबजारबाट फेरि पुल्चोकसम्म ५ किलोमिटरमा काम भइरहेको छ।

छ चरणमा करिब ६५ किलोमिटर लेन बनाउने नगरपालिकाको योजना छ। पुल्चोक-धोविघाट, जाउलाखेल-एकान्तकुना, महेन्द्र पार्क-रिङरोड, लगनखेल-सातदोबाटो, मंगलबजार-ग्वार्को, लोन्ला टोल मार्ग-बालकुमारीमा लेन बनाउने अध्ययन भइरहेको हो।

त्यस्तै धावाबाही-शंखमूल पुल, पुल्चोक-बखुन्डोल, रिङरोड-कुपन्डोल, लगनखेल-महालक्ष्मीस्थान, रिङरोड-बाग्मती पुल, एकान्तकुना-बाग्मती बसपार्क, सातदोबाटो-थैव, सातदोबाटो-ठेचोसम्म साइकल लेनसम्बन्धी अधययन भइरहेको छ। अध्ययनका लागि साइकल सोसाइटीले सहयोग गरिरहेको छ।

निजी सवारी छाडेर साइकलमा ‘स्विच’ हुन चाहनेका लागि यो समय राम्रो अवसर हो। 

सौरभले केही समयअघि ट्विट पनि गरेका थिए, ‘कार छाडेर साइकल चलाउँछु भन्नेहरूले भटाभट नाम दर्ता गर्नुहोस्। यो सेवा सरकारलाई पनि दिन सकिन्छ।’ 

सोम पनि यही भन्छन्, ‘साइकल विस्तार गर्ने यो अन्तिम अवसरजस्तै हो। त्यसलाई लिन भने सक्नुपर्‍यो। पछि पनि गर्न नसकिने होइन तर धेरै गाह्रो हुन्छ। विदेशमा महामारी समयलाई अवसर मानेर काम भइरहेको छ। हामी भने फेरि अर्को महामारी र लकडाउन कुर्ने?’

Source: setopati.com

You can share this post!