साम्राज्ञी भन्छिन्- कामको कुरा गर्न पनि गाला टाँस्न ल्याउनुपर्छ र!

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको बताएकी छन्। केही दिनअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले उक्त कुरा सार्वजनिक गरेकी हुन्।

उनले अहिलेसम्म आठवटा फिल्ममा काम गरेकी छिन्। तीमध्ये तीनवटामा नराम्रो अनुभव भोग्नुपरेको उनको भनाइ छ।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटक-पटक दबाब आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पार्दिने डरसमेत देखाइएको उनले भनेकी छन्।

‘मैले १७ वर्षको उमेरमै चलचित्र क्षेत्रमा डेब्यू गरेँ। त्यति बेला नेपाली चलचित्र क्षेत्र सानो भएकाले सबै कुरा बाहिर ल्याउनु हुँदैन भनियो,’ उनले भिडिओमा भनेकी छन्, ‘यहाँ जसको शक्ति छ, उसैले यो क्षेत्र नियन्त्रणमा लिएको हुन्छ। यस्तो बेला म भर्खर चलचित्रमा आएको मान्छेले यो कुरा बाहिर ल्याउँदा मेरो लागि ढोका बन्द हुन्छ भनेर सम्झाउँथे।’

आफूले विश्वास गरेको र अभिभावकझैं मान्ने नजिकको मान्छेले नै त्यस किसिमको हर्कत गरेको उनको भनाइ छ।

‘अंकलजस्तो उमेरको मान्छेलाई त्यही भनेर सम्बोधन गर्दा ‘दाइ’ भनेर बोलाऊ भन्थे,’ उनले भनिन्, ‘कामको विषयमा केही कुरा गर्नुपरे गालामा टाँसिएर बोल्न आउँथे। त्यो कुरा अलि पर बसेर भन्न सकिँदैन थियो र?

उनले अगाडि भनिन्, ‘मलाई त्यतिबेला नै भित्रबाट घिन लागेको थियो, तर हाँसेरै बोलिदिएँ। मेरो परिवारलाई फिल्म क्षेत्रको विषय केही ज्ञान छैन। मैले पनि त्यतिबेला यो कुरा नजरअन्दाज गरेँ तर आखिरमा सबैको असली रूप बाहिर आएको छ।’

साम्राज्ञीले भुवन केसी निर्माता रहेको ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी थिइन्। उनी भुवनकै छोरा अनमोल केसीसँग पहिलोपटक पर्दामा देखिएकी थिइन्। उक्त फिल्म व्यावसायिक रूपमा सफल भयो। यसबाट चलचित्र क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन मिले पनि सँगसँगै खुट्टा तान्ने मान्छेहरूको सामना गर्नुपरेको उनले बताएकी छन्।

‘हरेक फिल्मको प्रचारप्रसारमा जाँदा मलाई तपाईं किन घमण्डी हुनुहुन्छ भनेर सोधिन्थ्यो। मलाई भेट्दै नभेटेको, चिन्दै नचिनेको मान्छेले पनि म घमण्डी छु भनेर धारणा बनाइसकेका थिए। यसले मलाई दिक्क बनाउथ्यो। अन्तिममा थाहा पाएँ, जोसँग मैले काम गर्दै आएको थिएँ, उनीहरूले नै मेरोबारे अफवाह फैलाएका रहेछन्,’ उनले भनेकी छन्।

साम्राज्ञीले काम गरेको प्राय: ब्यानरमा उनी दोहोरिएकी छैनन्। यसो हुनुमा फिल्म क्षेत्रका केही सहकर्मीले गर्ने व्यवहारलाई उनी कारण बताउँछिन्।

सुटिङ बेला समयमा खाना, पानी नपाएको कुरा उठाउँदासमेत अपशब्द प्रयोग गरेर गाली गरिएको उनले बताइन्। यस्तो बेला कयौंपटक रूनुपरेको र फेरि केही नभएजस्तो नाटक गर्दै काममा फर्किनुपरेको अनुभव उनले सुनाइन्।

साम्राज्ञीले आफ्नो भिडिओमा कसैको नाम खुलाएकी छैनन्। तर, उक्त भिडिओ भाइरल भएलगत्तै भुवन केसीले फेसबुकमार्फत् आफ्नो कुरा राखेका छन्।

उनले लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन्? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने। सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि!’

भुवनको यस्तो प्रतिक्रियापछि साम्राज्ञी फेरि बोलेकी छन्।

उनले भनेकी छन्, ‘उहाँले मसँग राम्रो व्यवहार गरेको भए मैले यस्तो भन्नुपर्ने स्थिति आउँदैन थियो। यो हुनुको कारण उहाँ आफैं हो। यो विषयमा कति जनाले बोल्नुभयो होला, तर कसैले नसुनेको पनि हुनसक्छ। उनी त पहिलो व्यक्ति हुन्, त्यसपछि मलाई कति जनाले के गरेको छ, तर म चुप लागेर बसिरहेको छु।’

आफूले यो विषयमा बोल्दा माया वा घृणा जे पनि आउन सक्ने उनी बताउँछिन्। आफूलाई भने नराम्रो प्रतिक्रियाको बानी परिसकेको उनले भनेकी छन्।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनापछि बलिउडमा ‘नेपोटिजम’ अर्थात् नातावाद तथा समूहवादको बहस चर्किएको छ। यही बेला साम्राज्ञीले आफ्नो भिडिओमा नेपाली सिने क्षेत्र पनि यसबाट अछुतो नरहेको बताएकी छन्।

‘नेपाली फिल्म क्षेत्रमा मान्छेको शक्ति हेरेर फरक व्यवहार गरिन्छ। कोही फिल्मी क्षेत्रकै पृष्ठभूमिबाट आएको छ भने उसलाई काम गर्न गाह्रो हुँदैन, तर फिल्मी परिवारसँग सम्बन्ध नभएको मान्छे छ भने जनावरलाई जस्तो व्यवहार गरिन्छ,’ उनले भनेकी छन्।

साम्राज्ञी मात्र होइन, अन्य कलाकारले पनि यो विषयमा सामाजिक सञ्जालमार्फत् आफ्नो अवाज उठाएका छन्।

अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा लेखेकी छन्, ‘नेपोटिजम सबैतिर हुन्छ, फिल्म क्षेत्रमा मात्र होइन। फरक यत्ति हो, फिल्म क्षेत्र छर्लंग छ र सत्य बोल्ने आँट कमैको छ। यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ।’

उनी अगाडि लेख्छिन्, ‘गत वर्ष यो विषयमा फेसबुक स्ट्याटसमार्फत् मैले पनि हल्का कुरा उठाएकी थिएँ। त्यसपछि यसबारे कोही बोलेको सुनिएन, देखिएन पनि। हालै भएको बलिउड घटनाले यहाँ पनि यो विषयमा चासो बढेको देखेँ। कोहीले आवाज उठाउनुभयो, जुन कुरामा म पनि सहमत छु। तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउँमा आइपुग्दा यो विषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन।’

सेतोपाटी डट कमबाट

You can share this post!