वैज्ञानिक समाजवाद के हो ?

सन्देश रेग्मी

वैज्ञानिक समाजवाद सङ्क्रमणकालीन समाजको एक निश्चित राजनीतिक रूप हो, जहाँ कम्युनिस्ट विचारको नेतृत्वमा निरन्तर क्रान्तिद्वारा वर्गीय शोषण, असमानता, दमन र अशान्तिको अन्त्य हुन्छ। साथै, सम्पूर्णरूपमा पूर्ववर्ती समाजको विचार, उत्पादन पद्धति, राजनीति र संस्कृतिको पनि अन्त्य हुन्छ र यसले अनिवार्यतः वर्ग शोषण र विभेदरहित राज्यविहीन मानव जाति कै उत्कृष्ट सभ्यता र संस्कृतिसहित स्वतन्त्र, समुन्नत, शान्त, समानतामा आधारित र समृद्ध समाज व्यवस्था साम्यवादमा पु¥याउँछ। यसलाई वैज्ञानिक समाजवाद भनिन्छ। वैज्ञानिक समाजवादको राजनीति कम्युनिस्ट वैचारिक नेतृत्वमा दलाल पुँजीवाद र उत्तर साम्राज्यवाद विरोधी जनताको संयुक्त शासन तथा राजनीतिक प्रभुत्व हुन्छ। अहिलेको सरकारी समाजवाद श्रमिक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने शोषक, दलाल पुँजीपति वर्गको समाजवाद हो। विप्लवका शब्दमा विगतको असफलताबाट शिक्षा लिएर अब ‘जनवाद र अधिनायकत्वलाई वैज्ञानिक’ बनाउन आवश्यक छ।

चुनावी प्रतिस्पर्धामा कुनै नेता चुनिने योग्यता उसको ‘राज्य सम्बन्धी दृष्टिकोण, जनताप्रतिको समर्पण र समग्र आचरणलाई’ बनाइनुपर्छ। अहिलेको औपचारिक लोकतन्त्रको ठाउँमा वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्छ। अहिलेको चुनावमा जनता चुन्ने र दलाल पुँजीपति चुनिनेमा सीमित छन्। त्यसैमा पनि देशबाहिर रहेका आधा करोड मतदाताले मतदान गर्नै पाउँदैनन्। वैज्ञानिक समाजवादको अर्थनीति भनेको एकीकृत अर्थनीति हुन्छ। जस्तो कि जनतालाई नयाँ जनवादी (पुँजीवादी), कार्यकर्तालाई समाजवादी र नेतालाई साम्यवादी अर्थनीति हुनेछ। यो एकीकृत अर्थनीतिमा जनताको निजी पुँजीमा हस्तक्षेप नगरी सामाजिक पुँजीको श्रेष्ठता पक्डिन प्रोत्साहित गरिन्छ। विप्लवको भनाइमा ‘वैज्ञानिक समाजवादमा व्यक्तिका निजी स्वतन्त्रता र आवश्यकता ग्यारेन्टी गरेरै त्यो साम्यवादमा प्रवेश गर्न सक्छ।’ प्रारम्भमा उत्पादनका मुख्य साधनलाई राज्यको स्वामित्वमा लिएर व्यवस्थापन गरिन्छ।

अर्थात् जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा राज्यले लिएर हल गर्छ, र दलाल उत्पादन सम्बन्धको अन्त्य गरिन्छ। यसरी सामाजिक पुँजीको नेतृत्वमा सामाजिक र नीजि पुँजी एकीकृत हुन्छ। यो ‘दुईको एकमा संयोजन’को दर्शनबाट मुक्त मिश्रित आर्थिक नीति हुनेछ, जहाँ सामाजिक र निजी पुँजीको स्वस्थ प्रतिस्पर्धा तथा मैत्रीपूर्ण सङ्घर्षमा सामाजिक पुँजीले सर्वश्रेष्ठता कायम गरेर मात्र त्यसमा आधारित वैज्ञानिक समाजवाद साम्यवादतिर अग्रसर हुन सक्छ। गतिशील दुनियाँमा पुरानो पुँजीवादलाई नयाँ पुँजीवादले हैन, वैज्ञानिक समाजवादले मात्र जित्न सक्छ। वैज्ञानिक समाजवादको संस्कृति जनवादी, प्रगतिशील र वैज्ञानिक हुन्छ।

यो पनि विप्लवले भनेझैँ जनवादी र वैज्ञानिक समाजवादी संस्कृतिको एकीकृत संस्कृति हुन्छ भने राष्ट्रिय (जातीय) नीति भनेको वर्गीय मुक्तिसहित जातीय, लैङ्गिक, क्षेत्रीय मुक्तिको नीति हुनेछ। दलाल पुँजीवादी सत्तासँग रहेको नेपाली श्रमिक जनताको प्रधान अन्तरविरोधको समाधान नयाँ जनवादले हैन, वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ। यो गतिशील दुनियाँमा पुरानो पुँजीवादलाई नयाँ पुँजीवादले हैन, वैज्ञानिक समाजवादले मात्र जित्न सक्छ। किनभने, नयाँ जनवाद भनेको कम्युनिस्ट पार्टीको नेतृत्वको राष्ट्रिय पुँजीवाद भनेको हो। त्यसैले नयाँ जनवादको ठाउँमा वैज्ञानिक समाजवाद अघि सारिएको हो। वर्ग विभाजित समाजमा सत्ता पनि वर्गीय हुने भएकाले अहिलेको सरकारी समाजवाद श्रमिक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने शोषक, दलाल पुँजीपति वर्गको समाजवाद हो भने वैज्ञानिक समाजवादमा श्रमिक वर्गको मुक्ति, स्वतन्त्रता र समृद्धिसहित सर्वहारा वर्गको समाजवाद हो। यो आधारभूत रूपमा भिन्न हुन्छ।

You can share this post!