नेपालमा कोरोनाको असर कम हुन्छ, कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्छः प्रधानमन्त्री ओली काठमाडौँपाटी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कृषि क्षेत्रमा क्रान्ति ल्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक रहेको बताएका छन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण र कृषिको आधुनिकीकरण सम्बन्धी बहुआयामिक कार्यक्रम हो । अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन बृद्धि गरेर नै कोभिड १९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने स्पष्ट छ’, उनले भनेका छन्, ‘कृषि क्षेत्रको विकास र बृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो । त्यसका लागि कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण र मेशिनीकरण आवश्यक छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम एउटा महत्वपूर्ण र कृषिको आधुनिकीकरण सम्बन्धी बहुआयामिक कार्यक्रम हो । यस कार्यक्रमलाई सफल पार्दै हामीले नेपालमा कृषि क्षेत्रमा एउटा क्रान्ति ल्याउनु छ ।’

त्यस्तै प्रधानमन्त्री ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको र सरकारले धानको उत्पादन वृद्धि गरी दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।

तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको बताउँदै प्रधानमन्त्री ओलीले सिँचाइ सुविधा बिस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीऊ तथा मलखादको व्यवस्था, न्यूनतम समर्थन मूल्यको घोषणा जस्ता विषयलाई वर्तमान सरकारले जोड दिएको बताए ।

‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको बृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ । तर माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको छ । यसले मुलुकको परनिर्भरता समेत बढाएको छ ।’, उनले भने, ‘संविधानले कृषि तथा खाद्य सुरक्षा सम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न म प्रदेश सरकारहरु र स्थानीय तहहरुलाई आह्वान गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुनु जरुरी भएको बताएका छन् ।

‘यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ । पर्यटन र अरु त्यस्तै व्यवसायहरुमा गंभीर असर परेकोे यस विषम परिस्थितिमा कृषि र कृषिसम्बद्ध क्षेत्रले रोजगारीका अनेकन् अवसरहरु सिर्जना गर्नुपर्ने खाँचो रहेको छ’, प्रधानमन्त्री ओलीले भने ।

source : kathamandupati

You can share this post!