सेनाको पृतनापति सम्मेलन : कोरोना संक्रमितको सख्या ५० हजार पुग्ने विश्लेषण

काठमाडौं– नेपाली सेनाको पृतनापति सम्मेलन सैनिक मुख्यालयमा जारी छ । भारतसंग सीमा विवाद र कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर सेनाले गत शुक्रवार पृतनापतिको सम्मेलन बोलाएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले यहि हप्ता मात्र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई लिएर कालापानी क्षेत्रको भ्रमण गरेका थिए । सेनापति थापा काठमाडौंबाट फर्केलगत्तै पृतनापतिको वैठक बोलाइएको थियो ।

भेलामा आठै पृतनाका पृतनापतिहरुले आ–आफ्नो कार्यक्षेत्रमा देखिएका समस्याहरुको बारेमा रिपोर्टिङ्ग गरेका छन् । उनिहरुले भारत र अन्य मुलुकबाट आउने नेपालीको संख्या बढिरहेको भन्दै कोरोना भाइरसको महामारी अझै बढ्न सक्ने आंकलन सहितको रिपोटिङ्ग गरेको सैनिक स्रोतको दावी छ ।

सेनाको छलफलमा संक्रमितको संख्या ५० हजार नाघ्न सक्ने विश्लेषण गरिएको छ । साथै भविष्यमा कोरोना भाइरसको महामारी उच्च बिन्दुमा पुग्दा आईपर्ने चुनौतिलाई कसरी सामना गर्ने भन्नेबारेमा समेत वैठकमा छलफल भइरहेको छ ।

वैठकमा कोरोना संक्रमित संख्या १० हजार कटे सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्न सक्ने भन्दै त्यसका लागी सेनालाई कसरी तयारी हालतमा राख्ने भन्ने वारेमा समेत छलफल भएको छ । हाल सीसीएमसीमार्फत सेनाले नै अग्रपन्थीमा रहेर काम गरिरहेको छ ।

सरकारले स्वास्थ्य सामाग्री खरिदको जिम्मेवारी समेत सेनालाई दिएको थियो । सेनाले महंगो मुल्यमा औषधी खरिद गरेको र समयमा सामाग्री खरिद गर्न नसकेको भन्दै सेनाको आलोचना समेत भइरहेको छ । सेनालाई खरिद प्रक्रियामा संलग्न गराउन नहुने आवाज पनि अहिले सर्वत्र उठिरहेको छ ।

स्वास्थ्य सामाग्री खरिदमा विवादमा आएपछि सेनाले यसबाट अलग हुने जानकारी सरकारलाई दिइसकेको स्रोतको दावी छ ।  पृतनापति सम्मेलनमा सेना मुल कामबाट अन्य क्षेत्रमा प्रवेश गर्न नहुने जर्नेलहरुले धारणा राखेका छन् । यसले भविष्यमा सेनाको छवी नै विग्रने चिन्ता उनिहरुले गरेका छन् ।

सेनाले पृतनापतिको सम्मेलन गर्दा उद्घाटन कार्यक्रममा यसअघि रक्षामन्त्री र रक्षासचिवलाई बोलाउने गरेको भएपनि यस पटकको सम्मेलनमा भने दुवै जनालाई बोलाइएको छैन् ।

काठमाडौैंपाटीले रक्षासचिव रेश्मीराज पाण्डेलाई यसबारेमा गरेको जिज्ञासामा उनले आफुले केही बोल्न नमिल्ने बताए । ‘यो आन्तरिक कुरा हो, यसमा गए, नगएको मैले तपाईलाई भन्न मिल्दैन ।’ रक्षासचिव पाण्डले भने ।

source : kathmandupati

You can share this post!