पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँः प्रधानमन्त्री अ‍ोली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पढ्न अल्छी गर्ने र अनावश्यक हल्ला फैलाउने मान्छेहरुले अमेरिकी सहयोग नियोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गरेको बताएका छन् ।

राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसीबारे पढेका मान्छे कम मात्रै देखेको बताए ।

उनले भने, ‘लहलहैमा लागेर लौ अमेरिकी सेना आउने भयो भन्छन्, अहिले केही–केहीले हल्ला चलाएका छन्, पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्‍ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन हो ?’

धेरै जना कागले कान लग्यो भनेर दौडिरहेको तर कान छाम्ने चलन नरहेको प्रधानमन्त्री ओलीले बताए । उनले देशको सार्वभौमसत्ता र राष्ट्रियताभन्दा अरु कुनै कुरा ठूलो नभएको बताए । देशमा विकास हुन लागेकोमा चिन्ता हुन थालेको हुन सक्ने पनि प्रधानमन्त्री ओलीले बताए ।

‘खुट्टाले टेकेर हिँड्न छाडेर टाउकाले टेकेर हिँड्ने, हातले टेकेर खुट्टा ठाडो पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टाले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ, त्यो प्रबन्ध पढेर ठीक बेठीक यहाँयहाँ छ भन्नुचाहिँ एउटा कुरा हो । लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन् ? के पढ्छन् ? कागले कान लग्यो भनेर भन्दा, लाँदा त दुख्छ होला नि ! दुख्या छैन भने होइन होला नि भन्ने थाहा पाउनुप¥यो नि पहिला । दुख्या छैन तै पनि सुटुक्कै लगेछ कि भन्ने हो भने पनि छाम्नुप¥यो नि, मेरो पनि कान छ कि छैन भनेर ? दुख्यो दुखेर वास्ता नगर्ने, छ कि छैन नछाम्ने लहैलहैमा कुद्ने यो प्रवृत्ति अचम्म लाग्छ’, उनले भने ।

source : kathmandupati

You can share this post!