कर्णालीका फ्रन्टलाइनर्स भन्छन्ः साथीभाइले दूर-दूर गर्दा छुवाछूतको पीडा महशुस हुन्छ

जेठ ४ गतेसम्म नेपालका सबै प्रदेशमा कोरोनाभाइरसको संक्रमण फैलिइसक्दा पनि कर्णाली प्रदेश भने बचेकै थियो।  जेठ ५ गते प्रदेशकै पहिलो बिरामी दैलेखमा फेला परे। पछिल्लो समय भारतबाट आएकाहरू बढेसँगै कर्णाली प्रदेशमा संक्रमण पनि ह्वात्तै बढेको छ। अहिले त्यहाँ औसतमा दैनिक ५० जना नयाँ बिारमी थपिन्छन्। 

कर्णाली प्रदेशको पनि कोरोना हटस्पट भने दैलेख हो। त्यसैले यहाँ अहिले पनि कडा लकडाउन छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम, उपचार तथा स्वाब संकलनका लागि कर्णाली प्रदेशमा २७ वटा चिकित्सकसतिको स्वास्थ्यकर्मीको टोली विभिन्न ठाउँमा खटिएका छन्।

कर्णाली प्रदेशमा स्वाब परीक्षण गर्न २ वटा पिसिआर मेसिन छन्। एउटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा, अर्को प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा छ।

मेडिकल टेक्नोलोजिस्ट भरत देवकोटा सुर्खेतको प्रयोगशालामा काम गर्छन्। देवकोटासँग ८ जनाको टिम छ। यो टिमले दैनिक १८ घन्टा काम गर्नुपर्छ।

देवकोटा प्रयोगशालादेखि ४ किलोमिटर परको घर जान नपाएको ३ महिना हुन लाग्यो। उनी अहिले होटलमा बस्छन्।

घर नगएका देवकोटाको परिवारसँग कुरा भने इन्टरनेट र फोनबाट हुन्छ।

‘अहिले प्रविधिले सहयोग गरिदिएको छ, भिडिओ च्याटिङ हुन्छ,’ देवकोटाले भने, ‘छोरीले बाबा कहिले आउनुहुन्छ? भनेर सोध्दा मसँग उत्तर हुन्न। झन् नियास्रो लाग्छ।’नजिकैको घर जान नपाउनु त छँदै छ, अर्कोतिर साथीहरू भेटिँदा पनि उनलाई तिमी परै बस भनिदिन्छन्।

साथीहरूले यसो भन्दा  उनलाई चसक्क हुन्छ। त्यही पनि यो सबैको बाध्यता हो भन्ने बुझेका छन् र मन बुझाउँछन्। यस्तो बाध्यताले उनलाई जातीय भेदभावको सिकारमा परेकाको पीडा बुझ्न सिकाएको छ।

‘साथीहरू भेटिए भने तिमी परै बस भन्छन्, हुन त यो बेला बाध्यता पनि हो,’ देवकोटाले भने, ‘तैपनि मलाई यस्तो व्यवहार गरेको देखेर शताब्दीऔंदेखि होचिएर बसेकाहरू कसरी बसे होलानजस्तो लाग्छ।’

जे भए पनि उनले काम त गरिरहनै पर्छ। त्यो पनि जोखिमको मुखैमा।

देवकोटाले काम गर्ने प्रयोगशालामा अहिलेसम्म ३ हजार ५०० नमूना परीक्षण गर्न बाँकी छ। जम्मा एउटा मेसिन छ।

‘मेसिन भए पनि मानिसले धेरैजसो काम गर्नुपर्छ,’ उनले भने, ‘जोखिम त निकै छ। राज्यले पनि सोच्ला नि। यस्तोबेला सहयोग नगरे कहिले गर्ला त?’

डाक्टर पूजा बिसी दैलेखको दुल्लु अस्पतालमा कार्यरत छन्। लोकसेवा परीक्षा पास गर्नेबित्तिकै दरबन्दी दुल्लु पर्‍यो। उनले त्यहाँ काम गर्न थालेको २० महिना भयो। सेवा सुरू गेको दुई वर्ष नपुग्दै उनले कोरोना महामारीको सामना गर्न जुट्नु परेको छ। त्यहीँमाथि दैलेख कोरोनाको हटस्पट बनेको छ।

डाक्टर बिसी पनि चैत यता घर आएकी छैनन्। छिमेकी जिल्ला सुर्खेतमा उनको घर छ। तर परिवारसँग भने उनको टेलिफोनमा मात्र कुरा हुन्छ।

‘चैत यता घरमा कुरा हुने भनेको फोनमा मात्र हो,’ उनले भनिन्, ‘मभन्दा ड्याडी-मम्मी बढी आत्तिनुहुन्छ।’

आत्तिएका आमाबुवालाई समय लिएर सम्झाउने फुर्सद भने उनलाई निकै कम हुन्छ।

दुल्लुमा उनीसहित ४ जनाको टिम छ। कोरोनाको प्रकोप निकै बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दुईजना स्वास्थ्यकर्मी पठाइदिएकाले ४ जनाको समूह पुगेको हो। पछिल्लो समय अस्पताल आउने अरू बिरामीमा पनि कोरोना संक्रमण पुष्टि हुन थालेपछि जोखिम बढेको उनी बताउँछिन्।

‘पछिल्ला दिनमा त बिहानै बिरामी आइहाल्छन्, फुर्सद हुँदैन,’ डाक्टर बिसीले भनिन्,‘अन्य उपचारका लागि आउने केही बिरामीमा पनि कोरोना पोजेटिभ देखिन्छ, यसले गर्दा हामीलाई निकै जोखिम छ। तैपनि जिम्मेवारी पूरा गर्न पछि पर्नु हुँदैन भन्ने लाग्छ।’

शारिरीक रूपमा बढी सक्रिय हुनु पर्ने त छँदै छ, संक्रमण देखिन थाले यता मानसिक रूपमा बढी तनाव खेप्नु परेको उनले बताइन्।

प्रदेश सरकारका समाजिक विकास मन्त्रीले बेला-बेला फोन गरेर सोध्दा उनी केही ढुक्क हुन्छिन्।

उनी जस्ता फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले नै बेला-बेलामा फोन गरेर नआत्तिन भन्छन्।

‘सरकारले हौसला प्रदान गरिहेको छ, यसकारण काम गर्न अझ सहज भएको महशुस हुन्छ। सामाजिक विकास मन्त्री आफैंले फोन गरेर नआत्तिनु भनेर भन्नुहुन्छ,’ उनले भनिन् ।

डाक्टर केएन पौडेल कर्णाली प्रदेश अस्पतालमा कार्यरत छन्। उनी अहिले यो अस्पतालको कोरोना फोकल पर्सन हुन्। सरकारी क्वार्टरमै बस्ने  पौडेलले कोरोना संक्रमण फैलिन थालेपछि श्रीमती र छोराछोरीलाई आफूसँग राख्न सकेनन्। लकडाउन सुरू हुनुअघि नै श्रीमती माइत गइन्।

‘श्रीमती र छोराछोरी ससुरालीमा छन्, लकडाउन अघि गए पनि आफू जोखिममा हुने हुँदा डरले यता बोलाएको छैन,’ उनले भने।

बुढी आमालाई भने उनले आफूसँगै राखेका छन्।

‘आमालाई मैले नै हेरचाह गर्नुपर्छ, अरू विकल्प नहुँदा मसँगै राखेको हुँ,’ उनले भने।

अहिले स्वास्थ्यकर्मी बढी भयभित हुनुपर्ने अवस्था रहेको डाक्टर पौडेल बताउँछन्। अन्य रोगको उपचार गराउन आउने बिरामीमा पनि कोरोना संक्रमण देखिने गरेकाले स्वास्थ्यकर्मी झन् चनाखो हुनु परेको उनको भनाइ छ।

‘अन्य रोग भएका बिरामी उपचारका लागि आउनुहुन्छ, उहाँहरूमध्ये कतिमा कोरोना संक्रमण पुष्टि हुन्छ,’ डाक्टर पौडेलले भने, ‘यसले गर्दा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भयो भने एकै संस्थामा काम गर्ने सबैमा हुन्छ। त्यसैले स्वास्थ्यकर्मी अरूभन्दा बढी जोखिममा छन्।’

डाक्टर पौडेललाई कहिलेकाहीँ त मोबाइल अफ गरेर सुतौंजस्तो गरी थकाइ लाग्छ रे।

‘समन्वयको पाटो पनि हेर्नुपर्ने भएकाले फोन उठाउन र फोन गर्नै हम्मे हुन्छ, कहिलेकाहीँ त थकाइ लागेर फोनै अफ गरेर सुतौंजस्तो लाग्छ,’ उनले भने, ‘तर एक त स्वास्थ्यकर्मी, त्यसैमाथि यस्तो महामारीका बेला महत्वपूर्ण जिम्मेवारी बहन गरिरहेका हामी स्वास्थ्यकर्मीले त्यसो गर्नु भएन।’

Source: setopati.com

You can share this post!