असार १ गतेबाट शेयर कारोबार खुल्ला ? के छ तयारी ?

काठमाडौं । सरकारले आगामी असार १ गतेबाट शेयर कारोबार खोल्ने तयारी सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडा समेत शेयर कारोबार खोल्न सकारात्मक देखिएपछि नेपाल धितोपत्र बोर्ड र नेप्से समेत शेयर कारोबार खुल्ला गर्ने तयारीमा जुटेका छन् । यद्यपि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने तयार भइनसकेको आभाष मिलेको छ । अर्थमन्त्रालय र नेपाल स्टक शेयर बजार खोल्ने पक्षमा देखिए पनि नियामक निकायले भने लकडाउन अवधीभर कुर्ने पक्षमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्रसिंह साउदले भने, ‘हामीले शेयर कारोबार बन्द गर्नु हुँदैन भनेर सुरुदेखि भन्दै आएका छौं । नियामक निकायको निर्देशन हामी मान्दछौं । शेयर कारोबार खोल्न हामी जुनसकै बेला पनि तयारी अवस्थामा छौं ।’ नेप्सेका अनुसार धितोपत्र बोर्डको निर्देशन आएको अवस्थामा असार १ गतेबाट शेयर कारोबार सुरु गर्ने पूर्ण तयारी छ । यद्यपि लकडाउन अवधीभर शेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले गत जेठ १ गते नै निर्देशन दिएको र सोही निर्देशन बमोजिम कारोबार स्थगित भएकाले नियामक निकायबाट नियाँ निर्देशन नआउँदासम्म लकडाउन जारी रहँदासम्म शेयर कारोबार भने हुनेछैन ।

आइतबार बोर्डको २८ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुँजि बजार खोल्ने विषयमा सकारात्मक अभिव्यक्ति सार्वजनिक भएपनि बोर्डले जेठ ३२ गतेपछि के गर्ने भन्ने सम्बन्धमा कुनै छलफल भने चलाएको छैन । बोर्डकी प्रबक्ता दीपा दाहालका अनुसार जेठ ३२ गतेसम्मका लागि बजार बन्द गर्ने निर्णय भइसकेकाले असार १ गतेदेखि के गर्ने भन्ने सम्बन्धमा छलफल भएको छैन । सबैजना सकारात्मक देखिएकाले बोर्डको बैठक बसेर नै निर्णय गरिने उनले बताईन् । ‘कार्यक्रममा छलफल हुँदा सकारात्मक कुरा आएको हो, तर औपचारिक छलफल भएको छैन । आशा गरौं एक दुई दिनमै छलफल गरेर उपयुक्त निर्णय हुन्छ ।’

सरकारले लकडाउन खुकुलो बनाउँदै गर्दा शेयर कारोबार खोल्नुपर्ने भन्दै केही मानिसहरु पहल गरिरहेका छन् । नेप्सेले भने अब बजार खुल्ने सम्भावना रहेको विश्लेषण सहित प्राविधिक टोलीलाई तयारी हालतमा रहन निर्देशन दिएको जनाएको छ । कोरोनाको महामारी दिनानु दिन बढ्दै गएको सन्दर्भमा पुनः लकडाउन थप कडा हुने सम्भावनाका बीचमा बोर्डले ठोस परिस्थितिको विश्लेषण गरेर मात्रै शेयर बजार खोल्न दिने मनस्थितिमा देखिन्छ ।

source : insurancekhabar

You can share this post!