[बहस] बुद्धको देशमा नेकपा

श्याम श्रेष्ठ

बुद्ध धर्म-दर्शनका पहिलो वैज्ञानिक हुन्, पहिलो धार्मिक समाजवादी हुन्, बुद्ध आफ्नो समयका धार्मिक क्रान्तिकारी हुन् 

बुद्धको विशिष्टता

कुनै देश यस्तो हुन्छ, जहाँ जन्मन पाएकाले त्यहाँका मानिस धन्य हुन्छन् । कोही मानिस यस्ता हुन्छन्, जो कुनै देशमा जन्मेकाले त्यो देश नै धन्य हुन्छ, गौतम बुद्ध त्यस्ता मानिस हुन् । नेपालमा जन्मेका तमाम मानिसमा बुद्धजति गौरवमय र महिमामय नाम अर्को छैन । बुद्ध यस्ता व्यक्ति हुन्, जसलाई देशले चिनाइराख्नु पर्दैन । बरु उनको जन्मथलोको रूपमा नेपाललाई चिनाइँदा विश्वभरि देशको चिनारी ज्यादा विस्तारित हुन्छ । 

अढाई हजार वर्षभन्दा पनि लामो समयसम्म निरन्तर यति धेरै सम्मानित, श्रद्धेय र महिमामय नामका रूपमा बुद्ध स्थापित भइरहनु चानचुने कुरो होइन । यस्तो हुनका लागि ती व्यक्तिले सम्पूर्ण मानवजातिका लागि धेरै ठूलो गुन लगाएको हुनुपर्छ । बुद्धले दुःखबाट मुक्ति पाउने सरल तर अतिप्रभावकारी उपाय पत्ता लगाएर मानव जातिलाई गुन लगाएका छन्।

विगत तीन हजार वर्षमा धेरै धर्मदर्शनका आधारभूत विषयवस्तुले आजको मानव जातिका लागि सान्दर्भिकता गुमाइसकेका छन् । तर, बुद्ध दर्शनका कैयौँ मूलभूत गुदी भने आज पनि त्यत्तिकै सान्दर्भिक र तरोताजा देखिन्छन्, जति यो प्रारम्भ हुँदा थियो । अल्बर्ट आइन्स्टाइनले कतै भनेका छन्– ‘आधुनिक वैज्ञानिक युगको आवश्यकतालाई पूरा गर्ने कुनै धर्म यदि विश्वमा छ भने त्यो बुद्ध धर्म दर्शन हो ।’ नेपालले विश्वसामु टाउको उँचो पारेर गौरव गर्न सक्ने प्राचीन समयका महान्तम क्रान्तिकारी चिन्तक कोही छन् भने ती इसापूर्व ५६३ मा नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्ध हुन् ।

विश्वमा बुद्ध मात्र एक्ला धर्मगुरु हुन्, जसले आफ्ना उपदेशलाई तर्क, विवाद नगरी आँखा चिम्लेर खुरुक्क मान्न भनेनन् । उनी मात्र त्यस्ता एक मात्र धर्मगुरु हुन्, जसले स्वयंका उपदेशलाई समेत आलोचनात्मक आँखाले हेर्न अनि आफ्नो बारम्बारको प्रयोग, अनुभव र विवेकमा ठीक जँचे मात्र स्विकार्न भने । यस्तो भन्न निकै ठूलो आँट र आत्मविश्वास चाहिन्छ । केवल अनुमान र तर्कका आधारमा पैदा भएको ज्ञानले यस्तो भन्ने आँटै गर्न सक्दैन । बारम्बारको आफ्नै प्रयोग र अनुभवको कसीमा घोटेर सत्य साबित भएको ज्ञानले मात्र यस्तो भन्ने साहस गर्छ । बुद्धको ज्ञान त्यस्तै ज्ञान थियो ।

एक्लै बुद्धले आफ्नो जीवनकालमा जति संख्यामा जागृत, समालोचक र सामुदायिक सोच भएको मानिस तयार गरे, त्यति दक्षिण एसियाका सारा कम्युनिस्ट पार्टी मिलेर तयार गर्न सकेका छैनन् ।

त्यसैले बुद्धले कहिल्यै आफूलाई अन्धतापूर्वक विश्वास गर र मान भनेनन् । उनले त आफ्नै प्रयोगबाट, आफ्नै अनुभूतिबाट सही हो कि होइन, जान भनेर भने । उनले आफूमाथि श्रद्धा र सम्मानको माग कहिल्यै गरेनन् । यही हुनाले समस्त धर्मगुरुको भीडमा बुद्ध नितान्त फरक छन् । यो भन्न सकिन्छ कि ज्ञानको दुनियाँमा समालोचनात्मक शिक्षा सर्वप्रथम बुद्धबाटै प्रारम्भ भयो । यही कारणले समकालीन विश्वमा बुद्धको विहार र संघमा जति त्यो समयका प्रखर बौद्धिक व्यक्तित्वहरू जम्मा भए, त्यति अरू कुनै धार्मिक संस्थामा भएनन् । बुद्ध धर्म–दर्शनका पहिलो वैज्ञानिक हुन्, पहिलो धार्मिक समाजवादी हुन् । बुद्ध आफ्नो समयका धार्मिक क्रान्तिकारी हुन् । त्यति वेला यो क्षेत्रमा फैलिएको धार्मिक अन्धविश्वास, धर्मको नाममा खुलेआम पण्डापुरोहितको ठगी र व्यापारविरुद्ध उनको धर्म दर्शन खडा भएको थियो । 

एक्लै बुद्धले आफ्नो जीवनकालमा जति संख्यामा जागृत, समालोचक र सामुदायिक सोच भएको मानिस तयार गरे, त्यति दक्षिण एसियाका सारा कम्युनिस्ट पार्टी मिलेर तयार गर्न सकेका छैनन् । बुद्धको समयमा व्यक्तिगत सम्पत्ति, वर्ग, राज्य र राजतन्त्रको उदय भइसकेको थियो । दासयुग समाप्त भएर कबिला राज्यमा आधारित सामन्ती युग प्रारम्भ भइसकेको समय थियो । तथापि, बुद्धको विहारमा जति जातीय, वर्गीय तथा मानवीय समानता थियो, त्यति त्यो समयको कुनै धार्मिक संस्थामा थिएन । त्यो समयको बुद्धको संघ र विहारमा वर्ग, निजी सम्पत्ति र सम्पत्तिजन्य मानसिकतालाई बुद्धले जुन हदसम्म समाप्त गरे, त्यति आज नेपालका कम्युनिस्टले समाप्त पार्ने हो भने त्यो धेरै ठूलो सामाजिक क्रान्ति हुने थियो । 

बुद्ध र मार्क्सको समानता 

बुद्धको दर्शन र माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादी दर्शनका बीचमा निकै ठूलो समानता भेटिन्छ । किनभने, दुवै दर्शनले सम्पूर्ण अस्तित्वलाई अस्थायी वा अनित्य छ भन्छन्, संसारमा पैदा भएका हरेक कुरा नाशवान् छ भन्छन्, जे कुरा पैदा हुन्छ र अस्तित्वमा आउँछ, त्यो अस्तित्वबाट जान्छ पनि भन्छन् । दुवै दर्शनले संसारमा रहेका हरेक वस्तुलाई निरन्तर गतिमा हेर भन्छन् । दुवै दर्शनले संसारमा रहेका सारा वस्तु आपसमा अन्तरनिर्भर, अन्तरसम्बन्धित र सापेक्ष छ भन्छन् । दुवै दर्शनले संसार द्वन्द्वात्मक छ भन्छन्, अर्थात् जुन कुराको जन्म हुन्छ, त्यसको मृत्यु पनि हुन्छ । जुन कुराको उदय हुन्छ, त्यसको अस्त पनि हुन्छ । जहाँ विजय हुन्छ, त्यहाँ त्यसको छेवैमा पराजय पनि हुन्छ । जहाँ अग्लाइ हुन्छ, त्यहाँ त्यसको छेवैमा त्यत्तिकै उचाइको गहिराइ पनि हुन्छ । जहाँ अन्धकार हुन्छ, त्यहाँ त्यसको विपरीत पाटोमा उज्यालो पनि हुन्छ । 

बुद्धले दुःखबाट समस्त मानव जातिको मुक्तिलाई आफ्नो जीवनको मुख्य उद्देश्य बनाए भने कार्ल माक्र्सले शोषण–उत्पीडनबाट सम्पूर्ण मानव जातिको मुक्तिलाई आफ्नो मुख्य ध्येय बनाए । बुद्धले व्यक्तिगत सम्पत्ति र त्यसप्रतिको आशक्ति तथा अज्ञानतालाई सारा दुःखको मुहान ठाने । आफ्नो संघ-विहारमा भिक्षुहरूबीच उनले व्यक्तिगत सम्पत्ति सम्पूर्ण रूपमा उन्मूलन पनि गरे, ज्ञानयुक्त जागृत मानिसको ठूलो फौजका रूपमा भिक्षुहरूको ठूलो जमात उनले तयार गरे । माक्र्सले पनि यो संसारमा अपराध र शोषणको जरो व्यक्तिगत सम्पत्ति र अज्ञानतालाई नै ठह-याए । र, व्यक्तिगत सम्पत्तिरहित जागृत-विवेकशील मानिसको समुदायको रूपमा कम्युनिज्मको परिकल्पना गरे । श्रमिक र कम्युनिस्टको संगठनका रूपमा जागृत विवेकशील मानिसको ठूलो फौज उनले पनि तयार गरे । परन्तु आफ्नो जीवनकालमा आफ्नो संघमा व्यक्तिगत सम्पत्ति सिध्याइहाल्न भने सकेनन्। 

अज्ञानता र दुःखबाट मुक्ति पाउनका लागि बुद्धले पनि एक्लै होइन, संघ बनाएर लड्नुपर्छ भन्ने धारणा ल्याए । उनले धेरै ठाउँमा बौद्ध संघ र विहार बनाए पनि । मार्क्सले पनि शोषण र उत्पीडनविरुद्ध लड्न श्रमिकको संघ हुनुपर्छ भन्ने धारणा ल्याए । उनले श्रमिकको संघ युरोपभरि बनाए । बुद्धको पनि मुख्य जोड आँखा चिम्लेर कुनै पनि कुरा मान्ने मानिस होइन, हरेक कुरालाई आफ्नै बुद्धि, विवेक लगाएर आलोचक जागृत मानिस तयार गर्नमा रह्यो । मार्क्सको पनि कम्युनिज्म निर्माणका लागि त्यस्तै आलोचक जागृत मानिस चाहिन्छ भन्ने कुरामा जोड रह्यो । मार्क्सको सबैभन्दा मन परेको उक्ति थियो–हरेक कुरामा सन्देह गर । बुद्ध जात–पात, सम्पत्ति र वर्गको उँचनीचको तीव्र विरोधमा थिए । उनले आफ्नो संघमा त्यो समाप्त पनि पारे । मार्क्सका लागि जातिपाति, लिंग, धर्म, भूगोल र सम्पत्तिमा आधारित समाज कदापि मान्य थिएन । उनको संघमा पनि उनले यी सबै विभेद समाप्त पारे। 

बुद्धको मुख्य जोड आँखा चिम्लेर कुनै पनि कुरा मान्ने मानिस होइन, हरेक कुरालाई आफ्नै बुद्धि, विवेक लगाएर आलोचक चेत जागृत मानिस तयार गर्नमा रह्यो । मार्क्सको पनि कम्युनिज्म निर्माणका लागि त्यस्तै आलोचक चेत जागृत मानिस चाहिन्छ भन्ने कुरामा जोड रह्यो ।

परन्तु हिंसालाई हेर्ने दृष्टिकोण, सामुदायिक वर्गसंघर्षलाई हेर्ने ढंग, मुक्तिलाई हेर्ने ढंग, तानाशाहीलाई हेर्ने दृष्टिकोणमा भने बुद्ध र मार्क्समा तादाम्यता देखिँदैन । पुँजीपति वर्गको हिंसाको सामना गर्न मार्क्स प्रतिहिंसा आवश्यक छ भन्छन् । तर, बुद्धका विचारमा हिंसा र वैरले वैर कदापि शान्त हुँदैन, त्यो झन् बढ्छ । अहिंसा र अवैरले मात्र वैर शान्त हुन्छ ।

मार्क्सका विचारमा एक्लै होइन, श्रमिक वर्गको सामुदायिक वर्गसंघर्षले मात्र पुँजीवादी शोषण, उत्पीडन समाप्त हुन्छ र श्रमिक वर्गको मुक्ति हुन्छ । तर, बुद्धको धर्म दर्शनमा सामुदायिक संघको अवधारणा भएर पनि सामुदायिक वर्गसंघर्षको कुनै धारणा देखिँदैन । बुद्ध भन्छन् कि हरेक व्यक्तिले एक्लैको प्रयत्नले पनि दुःखबाट मुक्ति प्राप्त गर्न सक्छ, यदि उसले शील, समाधि प्रज्ञावाला अष्टांग मार्गको अनुसरण गर्छ भने । तर ध्यान, शील, समाधि, प्रज्ञा एक्लैभन्दा समुदायमा ज्यादा सघन हुन्छ।

मार्क्सका विचारमा सम्पूर्ण समाजलाई मुक्तितर्फ लैजाने हो भने केही समय संक्रमणकालका रूपमा श्रमिक वर्गको तानाशाही आवश्यक छ । तर, बुद्धको शब्दकोशमा भने तानाशाही नामको कुनै शब्द छैन । उनी त शत्रुलाई समेत दमन नगर, शत्रुका आँखाले नहेर, वैरता भावसहित नबोल भन्छन् । सम्यक वचन र सम्यक कर्मले शत्रुलाई पनि बदल्न सकिन्छ भन्छन्, उनी । अंगुलिमाल डाँकामा उनले त्यो प्रयोग पनि गरिहेरे । सफल पनि भए । बुद्धले जे भने ती सबैलाई आफ्नै जीवनकालमा सफलतापूर्वक प्रयोगमा ल्याए । मार्क्सका अधिकांश विचार हाइपोथेसिसका रूपमा मात्र रहे, आफ्नै जीवनकालमा व्यवहारमा अनुवाद हुन सकेनन् । पछि लेनिनले मात्र व्यवहारमा रूपान्तरित गरे। 

बुद्धको देशमा नेकपा 

अहिले बुद्ध जन्मेको त्यही देशमा नेकपाको शासन छ । नेकपाले बुद्ध नेपालमा जन्मेका थिए भनेर गौरवबोध गर्दै विश्वभरि प्रचारबाजी पनि गरेको छ । भारतले बुद्ध भारतमा जन्मिएका थिए भनेर नाजायज दाबी गरिरहेको सन्दर्भमा यो दाबी र प्रचार जायज र आवश्यक पनि हो ।बुद्ध लुम्बिनीमा जन्मेका थिए भनेर गौरवबोध तथा विश्वभरि चर्चा गरेपछि नेकपाको स्वाभाविक दायित्व यो हुन्छ कि उसले बुद्धको जन्मथलो मात्र होइन, बुद्धको शिक्षालाई समेत विश्वभर प्रचार गरोस् । किनभने, बुद्ध विश्वप्रसिद्ध भएको उनी लुम्बिनीमा जन्मनाका कारण होइन, उनको अद्भूत शिक्षाका कारण हो ।

त्यस हिसाबले नेकपाले सिंगो नेपाललाई र त्यसभित्र पनि विशेषतः लुम्बिनीलाई बुद्धको जीवन र शिक्षाबारे सबैभन्दा राम्ररी, विस्तृत र आधिकारिक रूपमा अध्ययन गर्ने थलोमा रूपान्तरित गर्न सक्नुपर्ने हो । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई पर्याप्त स्रोतसाधन प्रदान गर्दै बुद्ध धर्म दर्शनबारे अध्ययन गर्न चाहने संसारभरिका विद्यार्थी, प्रतिष्ठित विद्वान् र अनुसन्धातालाई यहाँ आउन, रहन र अध्ययन र प्राध्यापनसमेत गर्न प्रोत्साहित गर्न सक्नुपर्ने हो । 

बुद्ध धर्म दर्शन अध्ययनका लागि विश्वविख्यात (तात्कालीन मगध राज्य र हालको विहारस्थित) नालन्दा विश्वविद्यालय जलिसकेको परिप्रेक्ष्यमा लुम्बिनी विश्वविद्यालयलाई २१औँ शदीको नालन्दा विश्वविद्यालयको विकल्पका रूपमा बदल्ने योजना नेकपा सरकारले अघि सार्नुपर्ने हो । नेपालभरि तलदेखि माथिसम्म हरेक तहका विद्यालयमा बुद्धको विपस्यना ध्यान विधि सिकाउने प्रबन्ध पाठ्यक्रममै ध्यानको विषय राखेर गर्नुपर्ने हो ।

अहिले पनि सान्दर्भिक रहेका, साथै माक्र्सवादसम्मत रहेका बुद्धका कैयन् रूपान्तरणकारी दार्शनिक, नैतिक र सांस्कृतिक शिक्षालाई नेकपाले आफ्नै पार्टीमा र देशभरि आमजनजीवनमा व्यवहारमा रूपान्तरण गर्ने प्रयास योजनाबद्ध रूपमा सुरु गर्नुपर्ने हो । परन्तु अहिलेको नेपालको विडम्बना यो हो कि बुद्ध जन्मभूमि नेपालमा माथि भनिएका हुनैपर्ने महत्वपूर्ण काम नेकपाले नगरिरहेको मात्र होइन, नेकपा हिँडिरहेको दिशा र बुद्ध तथा मार्क्सका शिक्षाको दिशा बिल्कुल विपरीत देखिन्छन् । 

बुद्ध शिक्षा र माक्र्सवाद दुवैले मुक्तिका लागि राग, आशक्ति, लोभ, व्यक्तिगत सम्पत्ति र सम्पत्तिको मानसिकताबाट मुक्त हुनुपर्ने शिक्षा दिन्छन् । तर, नेकपाको नेतृत्व र कार्यकर्ता पंंक्तिको आजको एउटा मुख्य समस्या नै व्यक्तिगत सम्पत्तिमा अत्यधिक राग र आशक्ति देखिन्छ । जे गरेर भए पनि व्यक्तिगत सम्पत्तिमा दिन दुई गुणा रात चौगुणा वृद्धि नेकपाको आजको मूल प्रवृत्ति भएको छ ।

असल नैतिकता, संस्कृति र सदाचार भनेको जहिले पनि माथिबाट तलको दिशामा वहने कुरा हो । जब मूल नै धमिलो हुन्छ, तल खोला धमिलो हुनु कुन आश्चर्यको कुरा भयो र ? नेकपामा राग र लोभले नगाँजेका वा कम गाँजेका मान्छे हुँदै नभएका होइनन् । तर, उनीहरू लोभीपापीको विशाल समुद्रमा सानो टापुजस्ता भइसके । बुद्ध र मार्क्स दुवैको मुख्य जोड सम्पूर्ण मानव जातिमा होसपूर्णता र समताको विकास गर्नुमा रहेको छ । परन्तु नेकपामा भने अगुवाले जेसुकै गरे पनि केही पनि चाल नपाउने मूर्छित मान्छे तयार पार्ने उद्योेग चल्दै छ । त्यहाँ समताको त नामोनिसान देखिँदैन । 

मुक्तिका लागि बुद्ध र मार्क्स दुवैको मूल जोड जागृत, विवेकशील र समालोचक मनुष्यको सिर्जनामा देखिन्छ । राज्य अर्थात् लठ्ठीको भयविना पनि स्वअनुशासित हुने त्यस्ता विवेकशील र जागृत मनुष्यको समुदायलाई नै मार्क्सले समुदायवाद (कम्युनिज्म)को नाम दिएका छन् । तर, नेकपामा भने जागृत र समालोचक मान्छे हुनु भनेको नेतृत्वको वक्रदृष्टि वा कोपभाजनमा पर्नु हो ।

अन्धभक्त मान्छेको मात्र ठूलो माग छ, त्यस दलमा, जसले नेतृत्वले गरेको हरेक काममा सहमति जनाउँछ, प्रश्न उठाउँदैन, आँखा चिम्लेर नेतृत्वको बेठीक कामको समेत समर्थन गर्छ, विवेक–बुद्धि प्रदर्शन गर्दैन । यस्ता मान्छेबाट समुदायवाद त टाढैको कुरा रह्यो, पुँजीवाद पनि राम्ररी चल्दैन । परन्तु, आलोचनात्मक मत राख्नु भनेको नेकपामा अष्टलक्ष्मी शाक्य, लीलामणि पोखरेल वा भीम रावलको नियति व्यहोर्नु हो ।

मातहतका नेता कार्यकर्ता नेतृत्वले गरेको अनुचित काममा प्रश्न गर्नुप-यो भनेर स्थायी समितिको बैठक लिखित रूपमा माग गर्छन् । नेतृत्व त्यस्तो बैठक राख्न मान्दैमान्दैन, किनकि उनीहरूको ठम्याइमा त्यस्तो बैठकको आयोजना गरियो भने कार्यकर्ताले प्रश्न उठाएर हैरान पार्छन् । सप्रमाण आलोचनात्मक मत राख्ने मिडियालाई समेत त्यहाँ ‘अस्थिरता निम्त्याउने’को पगरी गुथाइन्छ । 

बुद्ध र मार्क्स दुवै राम्रो समाज निर्माणका लागि शीलयुक्त (अर्थात् नैतिकता र इमानदारीयुक्त) मानिसको विकासको पक्षमा छन् । तर, नेकपामा शीलको कुनै मूल्य नै हुन छोडेको छ । शील जे जस्तो होस्, त्यसको कुनै परवाह नगरिनाले नेकपामा मिलन चक्रे र परशुराम बस्नेतसमेत अटाउन थालेका छन् । दिनेश अधिकारी ‘चरी’समेत अटाएकै थिए । हालै एकजना शीर्ष नेताले सार्वजनिक रूपमै व्यक्त गरे कि तराजुमा सारा मन्त्री एकातिर, नैतिकता तथा इमानदारी पूरापूर परित्याग गरेको एकजना मन्त्री अर्कातिर राखियो भने उनका लागि परित्याग गरेका मन्त्री नै नेतृत्वका लागि ज्यादा गह्रौँ र प्रिय लाग्छन् । 

बुद्ध र मार्क्स दुवै मानव समुदायको मुक्ति र व्यापकतम हितका लागि संघ र समुदायवादमा सर्वाधिक जोड दिन्छन् । समुदायको हित नै प्रधान हुनुपर्छ, जे कुराले समुदायको हित गर्छ त्यसले व्यक्तिको हित त स्वतः गरिहाल्छ भन्ने धारणा नै संघवाद र समुदायवादको चुरो कुरो हो । नेकपामा भने संघवाद र समुदायवाद होइन, व्यक्तिवाद र निहित व्यक्तिगत स्वार्थमा आधारित गुटतन्त्र अत्यधिक मौलाएको छ । 

नेकपा सिंगै अलग–अलग स्वार्थ–समूहको संयुक्त मोर्चासिवाय केही रहेको छैन । यसरी बुद्ध र माक्र्सको शिक्षा र नेकपाको शिक्षाको दिशा पूर्व–पश्चिम फर्केका छन् । बुद्ध नेपालमा जन्मेका थिए भनेर विश्वभरि प्रचार गर्ने, तर काम र व्यवहारचाहिँ आज पनि सान्दर्भिक हुने र मार्क्सवादसम्मतसमेत हुने बुद्धका शिक्षाभन्दा एक सय ८० डिग्री उल्टो गर्ने हो भने त्यस्तो प्रचारको कुनै औचित्य हुँदैन । २५ सय वर्षअघिका बुद्धका सम्पूर्ण शिक्षा आज सान्दर्भिक नहोलान् । तर, जे–जे सान्दर्भिक छन्, तिनलाई पनि बुद्ध जन्मेको देशले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने साइनबोर्ड टाँग्दै नकार्नु, थोरै पनि व्यवहारमा लागू नगर्नु, बरु त्यसको ठीक उल्टो दिशामा हिँड्नु भनेको बुद्धलाई समेत बिक्रीयोग्य माल बनाएर बेची खाने प्रयास मात्र ठहरिनेछ ।

नयाँ पत्रिका दैनिकबाट साभार

You can share this post!