वैज्ञानिक समाजवादकाे सारतत्व

सन्देश रेग्मी

बैज्ञानिक समाजबाद भनेको के हो ? वैज्ञानिक समाजवाद सङ्क्रमणकालीन समाजको एक निश्चित राजनीतिक रूप हो, जहाँ कम्युनिस्ट विचारको नेतृत्वमा निरन्तर क्रान्तिद्वारा वर्गीय शोषण, असमानता, दमन र अशान्तिको अन्त्य हुन्छ । साथै, सम्पूर्ण रूपमा पूर्ववर्ती समाजको विचार, उत्पादन पद्धति, राजनीति र संस्कृतिको पनि अन्त्य हुन्छ र यसले अनिवार्यतः वर्ग शोषण र विभेदरहित राज्यविहीन मानव जाति कै उत्कृष्ट सभ्यता र संस्कृतिसहित स्वतन्त्र, समुन्नत, शान्त, समानतामा आधारित र समृद्ध समाज व्यवस्था साम्यवादमा पु¥याउँछ ।

यसलाई वैज्ञानिक समाजवाद भनिन्छ । वैज्ञानिक समाजवादको राजनीति कम्युनिस्ट वैचारिक नेतृत्वमा दलाल पुँजीवाद र उत्तर साम्राज्यवाद विरोधी जनताको संयुक्त शासन तथा राजनीतिक प्रभुत्व हुन्छ । अहिलेको सरकारी समाजवाद श्रमिक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने शोषक, दलाल पुँजीपति वर्गको समाजवाद हो । विप्लवका शब्दमा विगतको असफलताबाट शिक्षा लिएर अब ‘जनवाद र अधिनायकत्वलाई वैज्ञानिक’ बनाउन आवश्यक छ । चुनावी प्रतिस्पर्धामा कुनै नेता चुनिने योग्यता उसको ‘राज्य सम्बन्धी दृष्टिकोण, जनताप्रतिको समर्पण र समग्र आचरणलाई’ बनाइनुपर्छ ।

अहिलेको औपचारिक लोकतन्त्रको ठाउँमा वास्तविक लोकतन्त्रको अभ्यास गर्नुपर्छ । अहिलेको चुनावमा जनता चुन्ने र दलाल पुँजीपति चुनिनेमा सीमित छन् । त्यसैमा पनि देशबाहिर रहेका आधा करोड मतदाताले मतदान गर्नै पाउँदैनन् । वैज्ञानिक समाजवादको अर्थनीति भनेको एकीकृत अर्थनीति हुन्छ । जस्तो कि जनतालाई नयाँ जनवादी (पुँजीवादी), कार्यकर्तालाई समाजवादी र नेतालाई साम्यवादी अर्थनीति हुनेछ । यो एकीकृत अर्थनीतिमा जनताको निजी पुँजीमा हस्तक्षेप नगरी सामाजिक पुँजीको श्रेष्ठता पक्डिन प्रोत्साहित गरिन्छ ।

विप्लवको भनाइमा ‘वैज्ञानिक समाजवादमा व्यक्तिका निजी स्वतन्त्रता र आवश्यकता ग्यारेन्टी गरेरै त्यो साम्यवादमा प्रवेश गर्न सक्छ । प्रारम्भमा उत्पादनका मुख्य साधनलाई राज्यको स्वामित्वमा लिएर व्यवस्थापन गरिन्छ । अर्थात् जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको जिम्मा राज्यले लिएर हल गर्छ, र दलाल उत्पादन सम्बन्धको अन्त्य गरिन्छ । यसरी सामाजिक पुँजीको नेतृत्वमा सामाजिक र नीजि पुँजी एकीकृत हुन्छ ।

यो ‘दुईको एकमा संयोजन’ को दर्शनबाट मुक्त मिश्रित आर्थिक नीति हुनेछ, जहाँ सामाजिक र निजी पुँजीको स्वस्थ प्रतिस्पर्धा तथा मैत्रीपूर्ण सङ्घर्षमा सामाजिक पुँजीले सर्वश्रेष्ठता कायम गरेर मात्र त्यसमा आधारित वैज्ञानिक समाजवाद साम्यवादतिर अग्रसर हुन सक्छ । गतिशील दुनियाँमा पुरानो पुँजीवादलाई नयाँ पुँजीवादले हैन, वैज्ञानिक समाजवादले मात्र जित्न सक्छ । वैज्ञानिक समाजवादको संस्कृति जनवादी, प्रगतिशील र वैज्ञानिक हुन्छ ।

यो पनि विप्लवले भनेझैँ जनवादी र वैज्ञानिक समाजवादी संस्कृतिको एकीकृत संस्कृति हुन्छ भने राष्ट्रिय (जातीय) नीति भनेको वर्गीय मुक्तिसहित जातीय, लैङ्गिक, क्षेत्रीय मुक्तिको नीति हुनेछ । दलाल पुँजीवादी सत्तासँग रहेको नेपाली श्रमिक जनताको प्रधान अन्तरविरोधको समाधान नयाँ जनवादले हैन, वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ । यो गतिशील दुनियाँमा पुरानो पुँजीवादलाई नयाँ पुँजीवादले हैन, वैज्ञानिक समाजवादले मात्र जित्न सक्छ ।

किनभने, नयाँ जनवाद भनेको कम्युनिस्ट पार्टीको नेतृत्वको राष्ट्रिय पुँजीवाद भनेको हो । त्यसैले नयाँ जनवादको ठाउँमा वैज्ञानिक समाजवाद अघि सारिएको हो । वर्ग विभाजित समाजमा सत्ता पनि वर्गीय हुने भएकाले अहिलेको सरकारी समाजवाद श्रमिक जनतालाई शोषण, दमन र उत्पीडन गर्ने शोषक, दलाल पुँजीपति वर्गको समाजवाद हो भने वैज्ञानिक समाजवादमा श्रमिक वर्गको मुक्ति, स्वतन्त्रता र समृद्धिसहित सर्वहारा वर्गको समाजवाद हो । यो आधारभूत रूपमा भिन्न हुन्छ ।

You can share this post!