उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् क्षेत्रमा लगानीका लागि खराब मानसिकता र प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गरिने दृढता व्यक्त गरेका छन्।
विद्युत् नियमन आयोग स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री पुनले विगतमा जसरी सामान्य प्रक्रिया पूरा गर्दैमा सजिलै उत्पादन अनुमतिपत्र नदिइने स्पष्ट पारेका हुन् । आगामी दिनमा काम गर्नेलाई मात्र अनुमतिपत्र दिइने मन्त्री पुनको प्रष्टोक्ति छ । जलविद्युत्मा लगानी जोखिमपूर्ण रहेकाले काम गर्न सक्नेले मात्र लगानी गर्न आग्रह गर्दै उनले नसक्नेले अरु क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
‘अब अनुमतिपत्र लिएपछि भोलिपल्टदेखि नै काम गर्नेलाई मात्र सरकारले विश्वास गर्छ,’ मन्त्री पुनले भने, ‘नसक्नेले आफ्नो लगानीले भ्याउने गरी अर्कै उद्यम गर्नुस्, लगानीका अरु धेरै क्षेत्र छन्, जलविद्युत्मै लगानी गर्नुपर्छ भन्ने बाध्यकारी अवस्था छैन।’
मन्त्री पुनले प्रतिस्पर्धात्मक र गुणस्तरीय काम गर्ने इमान्दार लगानीकर्तालाई भने सरकारले स्वागत गर्ने स्पष्ट पारे। इमान्दार लगानीकर्ता र स्वच्छ लगानीका लागि पारदर्शी तबरले सहजीकरण गर्न तयार रहेको मन्त्री पुनको भनाइ थियो। विगतमा बैंक, बीमा कम्पनी र सहकारीमा जनताको लगानी डुब्ने समस्या देखिएपछि सरकारले नियमन गरेको प्रसंग कोट्याउँदै उहाँले जलविद्युत् क्षेत्रमा पनि त्यस्तै मापदण्ड बनाएर खराब लगानी रोक्ने योजनामा मन्त्रालय रहेको जानकारी दिए ।
लाेकान्तर बाट