प्रहरीको पीडा : एक चाउचाउ र एक बोत्तल पानीको भरमा १८ घण्टा ड्युटी

काेरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि गरिएको लकडाउनका बेला घरबाहिर निस्किने सर्वसाधारणलाई प्रहरी रोक्छ । सर्वसाधारणले प्रहरीप्रति गुनासो गर्छन् ।

सरकारी निर्णय अनुसार लकडाउन सफल पार्न खटिएका प्रहरीका समेत आफ्नै गुनासा छन् । सरकारी व्यवहार र सेवासुविधाबाट वाक्क छन् कतिपय प्रहरी ।

दिनभर १८ घण्टा ड्युटी गर्दा खानेपानी र खाजा समेत पेटभरी नपाइने गुनासो सुर्खेतका प्रहरी जवानको छ । सशस्त्र प्रहरीका जवानहरू वीरेन्द्रनगरका चोकचोकमा खटाइएका छन् ।

‘वैशाख महिनाको टन्टलापुर घाममा उभिइरहनुपरेको छ । न पानी छ, न त अन्य खाजा नै,’ एक प्रहरी जवानले लोकान्तरसँग भने, ‘तिर्खा लाग्यो भने पानी र भोक लाग्यो भने चाउचाउ किन्न तलबकै सहारामा बस्नुपरेको छ ।’ थोरै तलबमा ड्युटी गर्दा पनि दैनिक २०० रुपैयाँभन्दा बढी रुपैयाँ पानी र चाउचाउ खरिदमै सकिने गरेको ती प्रहरी जवानको गुनासो छ ।

कार्यालयले ड्युटीमा जाँदा एक चाउचाउ र एक बोत्तल पानी मात्रै दिने भएकाले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म अपुग भइरहेको उनले बताए । ‘सरकारले हामीले खाइपाई आएको तलब काट्ने भनेको बेलामा झन् तनाव थपिएको थियो,’ यरिचोकमा खटिएका एक प्रहरी हवल्दारले भने, ‘अन्य कर्मचारीलाई राज्यले धेरै सुविधा दिन्छ । हामीलाई भने ड्युटीमा खटाउने मात्रै गर्छ । न भत्ता दिएको छ, न त अन्य सेवासुविधा नै ।’

सरकारी व्यवहारले जागिरप्रति मोह भंग हुँदै गइरहेको उनले बताए । ‘चोकमा आउने हरेक नागरिकसँग कुरा गर्नुपर्ने, बोल्दाबोल्दै घाँटी सुक्ने गरेको छ । एक बोत्तल पानीको भरमा कसरी ड्युटी गर्नु ?’ उनले गुनासो गरे, ‘कम्तिमा हामीलाई पानी र चाउचाउ भएपनि सहजै व्यवस्था गरिदिएको भए ड्युटी गर्न सजिलो हुन्थ्यो ।’

प्रहरी हवल्दार जीवनबहादुर नेपालीले अभावमा पनि देशको सेवा गरिरहेको बताए । ‘हामीले छोराछोरी भनेर मात्रै के गर्नु ? नागरिकलाई बचाउनु पनि छ । त्यही कसम खाएर प्रहरी सेवामा आएका हौं,’ नेपालीले भने, ‘दैनिक रुपमा १८ घण्टा चोकमा खटिनुपरेको अवस्था छ । समस्या भएपनि निरन्तर हामी लागिरहेका छौं ।’ 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले प्रहरी जवानबाट विभिन्न गुनासा आइरहेको स्वीकार गरे । ‘४–५ जनाले श्रीमती र छोराछोरी बिरामी भएको गुनासो गरेका छन् । उहाँहरूका समस्या समाधान गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले भने, ‘बन्दाबन्दी भएको हुनाले उहाँहरूलाई समस्या भएको होला । त्यो समस्याभन्दा ठूलो यो भूमिका भएकाले खट्नुको विकल्प नै छैन ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रहरीको खटाइ प्रशंसनीय भएको बताए । ‘उहाँहरू धेरै खट्नुभएको छ । उहाँहरूका समस्या पनि छन्, त्यो मलाई पनि जानकारी छ । तत्कालका लागि मेडिकल सामग्री खरिद गर्न भनेर जनपद प्रहरीलाई १० लाख तथा नेपाली सेना र सशस्त्र प्रहरीलाई ५–५ लाख रुपैयाँ दिने निर्णय गरेका छौं,’ मन्त्री भण्डारीले भने, ‘ड्युटीमा खटिएका सबै प्रहरीलाई खाइपाई आएको शुरूको तलबको ५० प्रतिशत भत्ता उपलब्ध गराउँदैछौं । केही दिनमा नै उहाँहरूको खातामा जान्छ ।’

source lokantar.com

You can share this post!