पश्चिम बंगाल सरकारले गर्‍यो मेची नाका सिल, आयात-निर्यात ठप्प

४ वैशाख, काठमाडौं । नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए ।

‘बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी मलाई पारिबाट गराएका छन्,’ भन्सार प्रमुख विश्वकर्माले भने ।

उनकाअनुसार पश्चिम बंगाल भन्सार विभागका जोइन्ट कमिसनर एसके मोहापात्रले अवस्था सामान्य नभएसम्म भारतबाट वस्तु निर्यात गर्न नसकिने बताएका छन् । नाकामा आएर थन्किएका वस्तुलाई रि-रुट गरी अन्य नाकाबाट पठाउन मोहापात्रले भारतीय भन्सारका अधिकारीलाई निर्देशन दिएको विश्वकर्माले बताए ।

भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको उनले बताए । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता वस्तुको आयात धेरै भएको उनको भनाइ छ ।

नाका खोल्न कुटनीतिक पहल सुरु
केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ । परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका बन्दबारे पत्राचार गरिएको छ ।

दिल्ली स्थित नेपाली दूतावासबाट समेत पहल थालिएको जानकारी आफूलाई आएको मेची भन्सार प्रमु्ख ध्रुव विश्वकर्माले बताए ।

अनलाइनखबर बाट

You can share this post!