कोरोना र विश्वासघाती नेतृत्व

अनिल बि सी

कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व हल्लिएको छ । १६ लाख भन्दा बढीमा कारोना संक्रमण, ९६ हजार ७ सय भन्दा बढी कोे मृत्य र ३ लाख ५६ हजार १ सय ६१ जना आजसम्म निको भइसको कुरा अवगतै छ । यस्तो महाविपतको घडीमा हाम्रो देशको कम्युनिष्ट भनाउँदाको दुइ तिहाइ सरकार छ । तै पनि जनताले यो महामारीमा आफ्नो सरकार छ भन्ने महसुस गर्न सकिरहेका छैनन । थुप्रै राजनीतिक आन्दोलन र क्रान्तिबाट आएका नेतृत्वहरु सत्तामा छन । गरिखाने जनताहरु लकडाउनका कारण भोकभोकै बस्नु परेको छ । यस्तो अवस्थामा म आदरणीय नेता कमरेडहरुलाई भन्न चाहन्छु, आज विश्व सर्वहारा मात्र नभई नेपालका अधिकांश गरीब वर्ग माथी ठुलो चोट अनि भोकमरीले सताइरहेको छ । जसमा यो जनताबाट नाङगिएको कम्युनिष्टको खोल ओढेको सरकारले लकडाउनको नाममा भ्रष्टचार गर्न थालेको छ ।


एकातिर राहतको नाममा जनता भुल्याउने काम भइरहेकोछ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई राहत दिनुको साटो आफन्त र पार्टी निकटका व्यक्तिहरुलाइ मात्र दिइएको छ । त्यसैलाई राहत वितरणको सस्तो प्रचारबाजी गरिरहेका छन् । अब देखि कोही पनि भोको मर्नु पर्दैन भन्ने हाम्रा प्रधानमन्त्री नै यतिखेर गरीब जनताको पेटमा लात हानिरहेका छन् । पुनः स्मरण गराउन चाहन्छु, हिजो झापा आन्दोलन गर्दा खडग प्रसाद वली र जनयुद्ध गर्दा पुष्पकमलले बाँडेका सपना चकनाचुर भएका छन् । तीनको आदेशमा ज्यानको बाजी थापेर लडेका हजारौँ शहिदहरुको सपना तुहिएको छ । मिठा सपना देखाएर युद्धमा होम्न लगाउने नेतृत्वले हामी इमान्दार जनताका सिपाहीलाई धोखा दिएका छन । कोरोना महामारीमा सरकारले गरेको खेलाचिँको आलोचना सँगसँगै यहाँ म म हाम्रो विगतसँग जोडिएको इतिहासको बारेमा पनि कुरा गर्न चाहन्छु ।


हाम्रो गर्विलो इतिहास बोकेको माओवादी पार्टीलाई एमालेकरण गरिदिए पश्चात् फेरि पनि कम्युनिष्ट नामधारी पार्टीको अध्यक्ष बन्नुभएको छ प्रचण्ड । हिजो वर्ग उन्मुलनको कसम खाएर युद्धमा होमिएका हामी जनमुक्ति सेनाको आगत अत्यन्तै कष्टकर, दयनिय छ । हामीलाई उद्देश्य विहिन र भूमिका विहिन बनाएर कस्तो खालको वर्गको वकालत गर्दैछन कमरेडहरु ? कैयौँ सहयोद्धा साथीहरु विदेशको गल्लीमा श्रम, पसिना, सपना, रगत र स्वाभिमान बेचेर गुजारा चलाउन विवश छन् । शान्ति प्रकृयाको दौरानमा कमरेड विप्लवले भनेझैँ सुविधा सम्पन्न शहरमा पु¥याउँछौँ भनि ल्याएको नेतृत्वले हामीलाई बम्बैको बेश्यालयमा लगेर छोडिदिएको छ । यसको समाधान कसले र कसरी हुन्छ आजको नेतृत्वले जवाफ दिनै पर्छ ।

जुन वर्गको विरुद्ध हिजो हामीलाई लड्न लगाए त्यै वर्गको पाउमा आज आएर आफै लम्पसार परेकाछन् । हिजो जुन किताब पढ्न लगाए आज त्यै किताब देख्दा देशद्रोहीको संज्ञा दिइन्छ । हिजो जुन ड्रेस÷पहिरन लगाउँदा विश्वभरका दलाल पुँजीवादीको मान मर्दन हुन्थ्यो आज त्यै रातो रंग देखि तीनिहरुलाई एलर्जी हुन्छ । त्यहि वर्दी पहिरनेहरु आज सत्ताको मालिक बनेकाछन् । हिजो गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु सरह हो भन्ने पात्रहरु आज तीनै गणतन्त्र ल्याउने व्यक्तिहरुलाई वाइपास गरेर सत्ताको सारथी भएका छन् । हामी भन्न चाहन्छौ हामीले ज्यानको बाजी थाप्दै लडेर ल्याएको लोकतन्त्र, गणतन्त्रमा हाम्रै यत्रो ठुलो अपमान किन ?


गणतान्त्रिक मुलुकमा छोटे राजाहरुको विगविगी भएको छ । यो भ्रष्ट तन्त्रको अन्त्य हुन जरुरी छ । यसबाट आम नेपालीले उन्मुक्ति पाउनै पर्छ । आफुले त जनताको त्याग र सहिदका सपनाहरु बेचेर खाए खाएर पनि हिजो उत्पीडित समुदायको मुक्ति, समानता, वैयक्तिक स्वतन्त्रता र मानवअधिकार रक्षाको खातिर लड्ने र लड्न लगाउनेहरु आज आएर फरक राजनीतिक आस्था राख्नेहरुलाई आतंककारीको विल्ला भिराएर तीनका विचारमा प्रतिवन्ध लगाउँने कुचेष्टा गर्दैछन् । तिमिहरु दलालको कित्तामा उभिदैमा क्रान्तिको झण्डा सदाको लागि ढलिसक्यो भन्ने सोचेका छौ भने त्यो तिम्रो भ्रम हो । यसैगरी जनताका आवाजमा प्रतिबन्ध लगाइरहन्छौ भने, कम्युनिष्ट शासनको नाममा लुटको स्वर्ग मच्चाइरहन्छौ भने, जनमतको कदर नगरी दलाल पुजीवादको पक्षमा लाग्छौ भने हामीहरु थाकेर एकान्तवास बसेको नठान्दा हुन्छ । अवस्य एकदिन पुनः अर्को निर्णायक क्रान्तिको मैदानमा एकजुट भएर होमिनेछौ । जसको संकेत एकिकृत जनक्रान्तिको सुनौलो विहानीले दिइसकेको छ ।

लेखक पुर्व जनमुक्ति सेनाका कमाण्डर हुन् ।

You can share this post!