प्रधानमन्त्री ढुक्क : पाँच घन्टामा प्रत्यारोपणको काम सकिने प्रधानमन्त्री बिहान १० बजेदेखि अपरेशन थिएटरमा यसअघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल

प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए । शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र  युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । प्रधानमन्त्रीलाई बिहान १० बजे अपरेशन थिएटरमा लगिएको छ । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गाैला प्रत्यारोपण गराएका थिए । 

चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । ‘प्रधानमन्त्री मिर्गाैला प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ, उहाँको मनोबल युवाहरूको जस्तो छ । प्रत्यारोपणका लागि उहाँको स्वास्थ्य एकदम ठीक छ,’ डा. ज्ञवालीले भने । स्वदेशमै प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निर्णयले सबै चिकित्सकमा ऊर्जा थपिएको उनले बताए । 

प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ । 

वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार प्रत्यारोपण गर्नुअघि मुख्य रूपमा मुटु हेरिन्छ । ‘प्रत्यारोपण सफल–असफल हुने मुटुले निर्धारण गर्छ । प्रधानमन्त्रीको सबै स्वास्थ्य ठीक भएकाले प्रत्यारोपण गर्न लागिएको हो,’ काफ्ले भने । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सर्जिकल टिममा डा. ज्ञवाली र डा. शर्माबाहेक डा. पवन चालिसे, डा. सुमन चापागाईं पनि छन् । भारतबाट आएका डा. अनन्तकुमार ‘ब्याक सपोर्ट’मा रहनेछन् । त्यस्तै, मेडिकल टिममा डा. दिव्या सिंह साह, डा. महेश सिग्देल, डा. मकुन्द काफ्ले, डा. रविन नेपाली छन् । एनेसथेसियासहित क्रिटिकल केयरमा डा. सुवास आचार्र्य र डा. अनिल श्रेष्ठ खटिएका छन् । पुनम सिन्हाको नेतृत्वमा पाँचजनाको नर्सिङ टोली छ । त्यस्तै, कलेजोमा समस्या देखिए डा. रमेशसिंह भण्डारी, फोक्सोमा समस्या देखिए डा. सन्तकुमार दास र मुटुमा समस्या देखिए डा. अरुण सायमी पनि तयारी अवस्थामा रहनेछन् । 

शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया कलेजो प्रत्यारोपण गर्ने अप्रेसन थिएटरमा गरिनेछ । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै शल्यक्रियापछि उनलाई नियमित आइसियूमा नराखेर कलेजो प्रत्यारोपण युनिटकै आइसियूमा राखिनेछ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले केहीबेर ओलीसँग कुरा गरेका थिए । त्यसअघि अस्पताल पुगेका पर्यटनमन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । 

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको उपचारबारे कुनै पनि सूचना बाहिर नदिने निर्णय भएको छ । मंगलबारदेखि प्रत्यारोपण टिमबाहेक अरूलाई कलेजो प्रत्यारोपण युनिटमा प्रवेशमै रोक लगाइएको छ । प्रत्यारोपण सम्पन्न भएपछि भने अस्पतालले प्रत्येक दिन विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेछ । तर, चिकित्सकहरूले पत्रकारसँग सवाल–जवाफ भने गर्नेछैनन् । 

दशजनामा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण, सबै सफल

नेपालमा ८ अगस्ट २००८ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण थालिएको हो । ६ माघ ०६९ देखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि मिर्गौला प्रत्यारोपण सेवा दिन थाल्यो । ०६८ मा केन्द्रको स्थापना भएको थियो । 

देशभर हालसम्म एक हजार पाँच सयको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्यसमध्ये करिब सात सयको प्रत्यारोपण शिक्षण अस्पतालमा भएको युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले बताए । त्यसको सफल दर ९८ प्रतिशत छ । 

नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ती सबै सफल भएका छन् । डा. ज्ञवालीका अनुसार शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ‘प्रधानमन्त्री केपी ओली ११औँ नम्बरमा पर्नुभएको छ,’ उनले भने । यसअघि प्रत्यारोपण गरिएका सबै सामान्य ढंगले जीवनयापन गरिरहेको उनले बताए । 

प्रत्यारोपण गर्ने प्रा.डा. प्रेमराज ज्ञवाली भन्छन्–प्रधानमन्त्रीमा युवाको जस्तो मनोबल

प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ । नेपालमा हुन लागेको प्रत्यारोपणले समग्र चिकित्सकमा ऊर्जा थपिएको छ । प्रधानमन्त्री प्रत्यारोपणका लागि पूर्ण तयार हुनुहुन्छ । उहाँको मनोबल युवाहरूमा जस्तो छ । प्रत्यारोपण गर्न उहाँको स्वास्थ्य ठीक छ । प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार प्रि–डायलाइसिस, रगत, पिसाब जाँच गरिएको छ । सबै परीक्षणको रिपोर्ट राम्रो आएको छ । 

साउन ०६५ मा पहिलोपटक त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण थालिएको हो । त्यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माघ ०६९ देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको हो । नेपालभर हालसम्म १५ सयजनाको मिर्गौला प्रत्यारोपण भएको छ । जसमा शिक्षण अस्पतालमा मात्रै करिब सात सयको संख्यामा प्रत्यारोपण भएको छ । त्यसको सफल दर ९८ प्रतिशत छ । नेपालमै १० जनामा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालमा मात्रै आठजनाको दोस्रोपटक प्रत्यारोपण भएको छ भने दुईजनाको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरिएको छ । ती सबै सफल भएका छन् । नेपालमा प्रत्यारोपणका लागि उच्चस्तरका उपकरणहरू छन् । #प्रधानमन्त्री

Source: nayapatrikadaily.com

You can share this post!