आज बसन्तपंचमी अर्थात् सरस्वति पूजा मनाइँदै

माघ १६,काठमाडौं। आज बसन्तपंचमी अर्थात् सरस्वति पूजा, पूजाराधना गरी आज देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ ।

काठमाडौं उपत्यकामा रहेका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको छ। धेरैजसो विद्यालय र क्याम्पसहरुमा पनि आज सरस्वती पूजा कार्यक्रम राखिएको छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक–कान छेडिदिने गरिन्छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ‘गान्धर्व पुराण’मा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रूपमा पूजाराधना गर्छन्। यसैगरी तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ।

You can share this post!