नेपालगञ्ज। राँझा विमानस्थलबाट विमान उडान सुरू भएको चार दशकपछि गुरुयोजना अन्तर्गत सुधारको काम भइरहेको हो ।
विसं २०१७ मा खजुरामा स्थापना गरिएको विमानस्थललाई विसं २०३० मा राँझामा स्थानान्तरण गरिएको थियो ।
जग्गा अधिग्रहण गरेर पूर्वाधार निर्माण गरेर ३१ असार २०३७ देखि नेपालगञ्ज विमानस्थलमा सेवा सुरू भएको हो । तराइको पुरानो र व्यवस्थित नेपालगञ्ज विमानस्थलले अन्तर्राष्ट्रिय मापदण्डमा पुग्न अझै दुई दशक कुर्नुपर्ने भएको छ ।
त्यसका लागि अहिलेबाटै काम सुरू भइसकेको छ । यतिबेला विमानस्थलको रनवे विस्तारको काम धमाधम भइरहेको विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्ज आएर ठूला जेट विमान उडाउन मिल्ने गरी नेपालगञ्ज विमानस्थलको विकास र विस्तार गर्न निर्देशन दिइसकेका छन् ।
नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको २० वर्षे गुरुयोजनामा यसको विकास र विस्तारका लागि सन् २०४० सम्म कुर्नुपर्नेछ । त्यतिबेलासम्म अहिलेको विमानस्थलको आकार झण्डै दोब्बर हुनेछ भने पूर्वाधार पनि त्यही अनुरुप थपिनेछन् ।
ठूला जेट विमान उड्नसक्ने महत्वाकांक्षी योजना छ । गुरुयोजनामा चार चरणमा विस्तार र निर्माणको काम सम्पन्न हुनेछ । लक्ष्यमा पुग्न जग्गा अधिग्रहणबाहेक १२ अर्ब ५० करोड रुपैयाँको लागत लाग्ने अनुमान रहेको विमानस्थल प्रमुख ठाकुरले बताए ।
उनले योजनाअनुसार काम भइरहेको बताउँदै विमानस्थललाई सुधारको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । सन् २०२३ सम्म सम्पन्न हुने पहिलो चरणका लागि झण्डै दुई अर्बको बजेट छ ।
पहिलो र दोस्रो चरणको काम सुरू भइसकेको छ । सन् २०३० सम्म सम्पन्न गर्ने दोस्रो चरणका लागि सबैभन्दा बढी साढे ६ अर्ब रुपैयाँको बजेट छ । त्यसैगरी सन् २०३५ मा सम्पन्न हुने तेस्रो चरणमा सवा दुई अर्बको बजेट छ ।
चौथो चरणमा पौने दुई अर्बको लागतमा सम्पन्न गर्ने लक्ष्य छ । दैनिक ४० सरदर उडान हुँदै आएको नेपालगञ्ज विमानस्थलमा झण्डै एघार सय यात्रुलाई दैनिक सुविधा पुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको सबैभन्दा व्यस्त नेपालगञ्ज विमानस्थलका लागि नयाँ गुरूयोजनाअनुसार अगाडि बढ्दा सय बिघा जग्गा थप आवश्यक पर्छ ।
हाल १ सय ६६ बिघा क्षेत्रफल रहेको नेपालगञ्ज विमानस्थलका लागि थप सय बिघा जग्गा अधिग्रहण गरेपछि मात्र प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा पर्याप्त हुनेछ ।
यसका लागि डुडुवा नालालाई तीन सय मिटर टाढा सार्ने योजना बनाइएको छ । ‘चार चरणमा काम सक्ने योजना छ,’ विमानस्थल प्रमुख ठाकुरले भने, ‘पहिलो चरण र दोस्रो चरणका काम अहिले धमाधम भइरहेका छन् ।’ रनवे विस्तार, टर्मिनल भवनलगायतका काम गर्न जग्गा अधिग्रहणको काम चाँडै सुरू हुने उनले बताए ।
डीपीआरले दोस्रो चरणका लागि सन् २०२५ भित्र थप दुई अर्ब ८ करोड रूपैयाँको लगानीमा विमानस्थल विस्तारदेखि पूर्वाधार निर्माणसम्मका योजना समेटेको छ । अन्तर्राष्ट्रियस्तरको विमानस्थलका लागि डीपीआर अनुसार नै काम अगाडि बढाउँदा लामो समय सम्पूर्ण उडान बन्द गरेर काम गर्नुपर्ने हुनसक्छ ।
डीपीआर स्वीकृतिपछि सरकारसँग लगानी माग गरिनेछ । त्यसैगरी तेस्रो र चौथो चरणको काम भने झण्डै २० वर्षको लक्ष्यलाई प्रक्षेपण गरिएको छ । प्राधिकरणका अनुसार, तेस्रो चरणको कामले नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रियस्तरको बनेको देखिने छ । जसमा सात अर्ब ४० करोड रूपैयाँ खर्च हुने अनुमान छ ।
नयाँ योजनाअनुसार, नेपालगञ्ज विमानस्थलको रनवे तीन ‘सी’ क्याटोगरी अर्थात् एक हजार ५ सय २४ मिटरबाट वृद्धि गरी ‘फोर-सी’ क्याटेगरीमा दुई हजार ४ सय ४५ मिटर लामो रनवे बनाइने छ ।
त्यसो गर्दा हाल एटीआर विमान उडान गर्न मिल्ने उक्त विमानस्थलमा गुरुयोजना अनुसार काम भए आगामी दुई दशकभित्र एयरबस जस्ता ठूला जेट विमान पनि सहजै उडान गर्नसक्ने विमानस्थल तयार हुनेछ ।
हाल ६ वटा मात्र विमान अटाउने पार्किङमा नौवटा ठूला (साना ११) वटा विमान पार्किङ गर्न सकिनेछ । नेपालगञ्जबाट सबैभन्दा धेरै उडान काठमाडौं हुन्छ ।
नेपाल एयरलाइन्स, बुद्ध र यति लगायतका विमानले उडान भरिरहेका छन् । प्राधिकरणका अनुसार अहिले दैनिक एक हजार ५ सय जनाले हुम्लाको सिमकोट, मुगुको रारा, जुम्ला, बाजुरा र रूकुम लगायतका जिल्लामा उडान भर्दै आएका छन् ।
स्रोत: रासस