राजा वीरेन्द्रको सुझावले सुरु भएको थियो पोखरा सडक महोत्सव, पोखरा ब्रान्डिङ गर्न सहयोगी

पोखरा। सुन्दर छ पोखरा सबैको रोजाइको सहर। अंग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ।

वर्सेनि अंग्रेजी नयाँ वर्ष पोखराले फरक तरिकाले मनाउन थालेको २० वर्ष पूरा भइसकेको छ। पर्यटक भित्र्याउने नयाँ नयाँ सोचको विकाससँगै पर्यटन व्यवसायमा अनुभवी गणेशबहादुर भट्टराईले सडक महोत्सवको परिकल्पना ल्याएका थिए।

‘सन् १९९७ तिर राजा वीरेन्द्रसँग पोखरामा डिनर गर्ने अवसर मिल्यो, सो अवसरमा राजा वीरेन्द्रले पोखरामा पर्यटकको चहलपहल नभएको भन्ने कुरा राख्नुभयो। कारण के हुन सक्छ, दक्ष जनशक्ति भएन कि पर्यटक गतिविधिमा हाम्रो चासो पुगेन कि। यसमा ध्यान दिनुपर्‍यो भनेर चिन्ता व्यक्त गर्नुभयो,’ भट्टराइले भने, ‘मलाई राजा वीरेन्द्रको कुराले निकै सोचमग्न बनायो, सन् १९९७ मा भारतको गोवाको एक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। मैले त्यहाँ सांस्कृतिकदेखि हस्तकलाका धेरै कुरा देखेँ, तत्काल पोखरामा पनि यस्तै मेला गर्न सकिन्छ भन्ने सोच बनाएर फर्किएँ।’

सन् १९९९ मा पोखरामा ‘मिलेनियम इभ’ को आयोजना भयो र त्यसको संयोजक भट्टराई नै थिए। त्यसताका व्यापार मेलामार्फत नेपालको उत्पादनलाई बाहिर बजारमा निर्यात गर्न सफल भएको उनको अनुभव छ। मिलेनियम इभमा विभिन्न देशका खाना, संगीत, कला, संस्कृति र हस्तकलालाई जोड दिइएको उनले बताए।

उक्त कार्यक्रमका सफलतासँगै त्यसयता रेबानले सडक महोत्सवका रूपमा यस नयाँ वर्ष महोत्सव मनाउँदै आएको छ। बिहीबार रेबान सडक महोत्सव सातौं संस्करणदेखि ‘पोखरा सडक महोत्सव’ सुरू भएको छ। अब यसलाई अन्तर्राष्ट्रियरूपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने उनको तर्क छ। ‘पोखरा पर्यटकको रोजाइको गन्तव्य हो। पर्यटकलाई आकर्षित गर्न अब अन्तर्राष्ट्रिय कला संस्कृति भित्र्याएर र यहाँको कला संस्कृति, हस्तकला, उत्पादनलाई अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउनुपर्छ,’ उनले भने।

सडक महोत्सवका लागि अहिले देशदेखि विदेशबाट समेत पर्यटकको आगमन बढ्दै गएको रेष्टुराँ एण्ड बार एशोसिएशन (रेबान) पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए।  ‘पहिले नेवार समुदायका विभिन्न सांस्कृतिक गतिविधि बजार क्षेत्रमा केन्द्रित हुन्थे, लेकसाइड शून्यजस्तो हुन्थ्यो,’ उनले भने, ‘जब महोत्सव हुन थाल्यो लेकसाइडको पहिचान पनि थप उचाइमा पुग्यो। खुला सडकमा विभिन्न खानाको परिकार र सांस्कृतिक कार्यक्रमले पुसको जाडोलाई बिर्साइदिन सफल महोत्सवले पोखरेली मात्र होइन देश विदेशमा समेत आफ्नो ब्राण्डिङ गरेको छ ।’

भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सडक महोत्सवले थप भूमिका खेल्ने उनको विश्वास छ। रेबानका पूर्वअध्यक्ष सूर्य भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सफल भएको बताउँछन्। ‘यो जाडो मौसम र विशेषगरी क्रिसमसको समयमा पोखरामा पर्यटकको बसाइँ निकै पातलो हुन्छ । विभिन्न देशबाट आएका पर्यटकलाई सडक महोत्सवले उत्सव मनाउने अवसर प्रदान गरेको छ,’ उनले भने। सडक महोत्सवको २१ औं संस्करण प्रवर्द्धन समितिको संयोजकसमेत रहेका उनले भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन यही ‘ग्राउण्ड’ बाट हुने भएकाले पनि विशेष रहेको बताए।

 गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शनसहितको र्यालीले थप रौनकता प्रदान गर्ने उनले बताए। यस वर्ष करिब ६ लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको भुजेल बताए। सातौं संस्करणबाट पोखरा सडक महोत्सवबाट नाम पाएको यस महोत्सवमा विभिन्न देशका खानाका परिकारका साथै नेपालका विभिन्न कला संस्कृति झल्कने प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, हस्तकला सामग्री, एवं कृषिउपजको प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए। पोखरा लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा सडक महोत्सव हुनेछ।

Source : bizmanu.com

You can share this post!