काष्ठकला सिक्दै कलाकार

काठमाडौं – बाग्लुङका रोशन खत्री नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चौरमा बसेर काठमा भगवान गणेशको आकृति बनाउन व्यस्त छन्। मूर्तिकार बन्न लालायित उनी प्रतिष्ठानले आयोजना गरिरहेको काष्ठकलासम्बन्धी १० दिने कार्यशालामा सहभागी भएर काठमा विभिन्न आकृति तयार गर्न सिक्दैछन्।

‘काष्ठकला तयार गर्न विभिन्न सीप आवश्यक हुन्छ। यस कार्यशालाले मलाई विभिन्न आकृतिलाई एकसाथ काठमा कुद्न सिकाइरहेको छ,’ उनी भन्दै थिए। अर्की सहभागी सिर्जना कलेज अफ फाइन आर्टस्की छात्रा संगीता लामा काठमा बुद्धको मूर्ति कुद्दैछिन्। पहिलो पटक काष्ठकला तयार गर्न सिक्दै गरेकी उनी भन्छिन्, ‘चित्रकला र प्रतिस्थापन कलाभन्दा काष्ठकलामा आकृति कुद्न जटिल हुनेरहेछ।’ उनीहरुजस्तै काष्ठकलामा रुचि राख्ने २३ जना सहभागीहरु कार्यशालामा विभिन्न आकृति कुद्न व्यस्त छन्।

आइतबारदेखि सञ्चालन भइरहेको काष्ठकलासम्बन्धी कार्यशालामा सहभागी कलाकारहरु बुद्ध, गणेश र विभिन्न देवीदेवताका आकृति बनाइरहेका छन्। प्रतिष्ठानअन्तर्गत मूर्तिकला विभागका प्रमुख लालकाजी लामाकाअनुसार कार्यशालामा १५ जना कलाकारलाई सहभागी गराउने योजना भएपनि २३ जना इच्छुकलाई सहभागी गराएको बताए। ‘परम्परागत कलालाई सम–सामयिक शिक्षसँग जोडेर विश्वसामु परिचय गराउन लागि परेका छौं। यो कार्यशालामा सिकारु कलाकारहरु सहभागी भएकाले उनीहरुको कलामा नेपालीपन झल्काउन प्रेरित गरिरहेका छौं,’ उनले भने। सहभागी कलाकारहरुले तयार गरेको काष्ठकलालाई प्रदर्शनी गरिने जानकारी उनले दिए।

प्रथमराज बज्रचार्य र सप्तराज बज्रचार्यले सहभागी कलाकारहरुलाई काष्ठकलासम्बन्धी प्रशिक्षण दिइरहेका छन्। काष्ठकलालाई लोप हुनुबाट बचाउनु कार्यशाला सञ्चालन गरिएको जानकारी प्रशिक्षक सप्तराज बज्रचार्यले गराए। ‘सिकारु कलाकारहरुले यस कार्यशालामार्फत काष्ठकलासम्बन्धी ज्ञान र सीप आर्जन गरिरहेका छन्,’ उनले भने।

Source: nagariknews.com

You can share this post!