१० मंसिर, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीका अनुसार, प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएका बिरामीकाे तत्काल अपरेसन गर्नुपर्ने भएकाले त्यसकाे तयारी भइरहेको सायमीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो ।
पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ ।
Source: onlinekhabar.com