तुलसीपुर ६ लाई बालश्रम मुक्त घाेषणा गरिने

दाङ तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ६ लाई यस क्षेत्र कै पहिलो बाल श्रम मुक्त घोषणा गरिने भएको छ । अवको दुई महिना भित्र मै वाल श्रम मुक्त घोषणा गर्नेगरी तयारी भइरहेको वडा अध्यक्ष नवराज लामिछानेले जानकारी दिए ।

वडालाई बाल श्रम मुक्त घोषणा गर्न पहिलो चरणमा घर-घरमा पुगेर तथ्यांक संकलन गरिएको उनले बताए । यो तथ्यांक अनुसार वडामा १३ जना बाल श्रमिक रहेको र उनीहरुलाई उद्वार गरी विद्यालय भर्ना गर्ने तयारी भइरहेको छ ।

घरेलु, होटल, निर्माण, यातायात, ग्यारेज गरि ७ जना वालक र ६ जना वालिकाले श्रम गरिरहेको तथ्यांक छ । वडाका ३ हजार २ सय ३९ घरमा पुगेर यो तथ्यांक संकलन गरिएको हो । १८ बर्ष मुनिका ४ हजार वालवालिकाको तथ्यांक संकलन गर्दा १३ जना बाल श्रमिक फेला गरेका हुन् ।

वडालाई बाल श्रम मुक्त गर्नकालागि शनिवार सरोकारवालाबीच भएको छलफलले नगर प्रमुखको संयोजकत्वमा ५१ सदस्यीय बालश्रम मुक्त वडा घोषणा मूल समिति गठन गरेको छ । समितिमा उपप्रमुख माया आचार्य, वडा अध्यक्ष नवराज लामिछाने, पत्रकार महासंघ, यातायात, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, बाल सञ्जाल, युवा सञ्जाल, अधिकारकर्मी लगायत सरोकारवाला सदस्य रहेका छन् ।

छलफलले १३ सदस्यीय कार्यदल पनि गठन गरेको छ । यस्तै बाल श्रम मुक्त वडा घोषणाकालागि ५ वटा उपसमिति गठन गरीएको छ । आर्थिक तथा सचिवालय व्यवस्थापन, अनुगमन मुल्यांकन तथा प्रमाणिकरण, सुचना तथा सञ्चार, पुनस्थापना तथा उद्वार र  घोषणा गरि ५ वटा उपसमिति गठन गरीएको हो । सबै उपसमितिले तोकिएको विम्वेवारी पूरा गरि राष्ट्रिय। बाल दिवसको अवसर पारि वडालाई बाल श्रम मुक्त गरिने छ ।

नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । वडा अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख माया आचार्य, इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यादव सुबेदी, उच्च अदालत बार तुलसीपुरका प्रदीप धिताल, अधिकार कर्मी शुष्मा गिरी, निर्मल नेपाली, सरोकारवालाले वडालाई बाल श्रम मुक्त घोषणाका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गरेका थिए ।

न्यु सीपीसीका महासचिव नानीमैयाँ वलीको सञ्चालनबाट सुरू भएको कार्यक्रममा उपमहानगरको महिला तथा वालवालिका शाखा अधिकृत माया श्रेष्ठले स्वागत र न्यु सीपीसीका अध्यक्ष नीशा लामिछानेले धन्यवाद मन्तब्य राखेका थिए ।

१४ बर्ष मुनिका वालवालिकालनई कुनै पनि श्रममा लगाउने नपाइने र १४ देखि १८ बर्ष सम्मका वालवालिकालाई मापदण्ड पूरा गरि सम्वन्धित निकायबाट स्वीकृति लिइ श्रममा लगाउन पाउने कानुनी व्यवस्था रहेको छ । दाङमा हालसम्म कुनैपनि वडा वाल श्रम मुक्त घोषणा भएको छैन ।

Source: Pahilopage.com

You can share this post!