रवि लामिछाने धरौटी बुझाएर थुनामुक्त

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछाने र युवराज कँडेल अदालतले मागेको धरौटी बुझाएर थुनामुक्त भएका छन्।

सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, यूवराज कंडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोड्न आदेश दिएको हो।

लामिछानेका वकिल अधिवक्ता सुनिल पोखरेलका अनुसार अदालतको आदेशपछि उनीहरूले अदालतले मागेको धरौटी बुझाएर छुटेका हुन्।

रवि लामिछाने ५ लाख र युवराजले ३ लाख धरौटी बुझाएर छुटेका हुन्।

उनीहरू दुवैसँग अदालतले अनुमतिबिना विदेश जान नपाउने गरी धरौटी माग गरेको छ।

‘लामिछाने र कँडेलले पुडासैनीको आत्महत्याबारे प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म न्यायिक प्रकृयाको बारेमा देश तथा विदेशबाट टेलिभिजन कार्यक्रम, फेसबुक लाइभ युट्युबजस्ता काम नगर्ने/नगराउने, औषधि उपचारको लागि जानुपर्‍यो भने यो अदालतको पूर्वअनुमति लिएरमात्र जानुपर्ने,’ अदालतको आदेशमा भनिएको छ।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो।

पुडासैनी साउन २१ गते चितवनको कंगारू होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

उनको साथबाट आत्महत्याअघि खिचिएको भिडियो प्राप्त भएको थियो। जसमा उनले लामिछानेसहित तीनै जनाका कारण आफू मर्नुपरेको बताएका थिए।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन्। 

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो। source: setopati.com

You can share this post!