आजदेखि सहसचिवको समायोजन

सरकारले ६६२ सहसचिवको समायोजनको तयारी शुरु गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन प्रक्रिया अगाडि बढाइएको बताए ।

सङ्घमा ५६० र प्रदेशमा १०२ सहसचिवको समायोजन गर्न स्वीकृतका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । मन्त्रालयले पहिलो चरणमा सङ्घमा सबै सचिवको समायोजन गरिसकेको छ । प्रवक्ता अधिकारीले यसअघि उपसचिव तहको आइतबारदेखि समायोजन गर्ने भनिएता पनि प्राविधिक कारणले आज मङ्गलबारबाट मात्र शुरु हुने जानकारी गराए ।

करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत ११ पुसदेखि २ माघसम्म अनलाइन फाराम भर्न समयसीमा तोकेको थियो । उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए । 
सरकारले ३ फागुनसम्म अनलाइन आवेदनको आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 
–रासस

You can share this post!