कुकुरलाई रेविजविरुद्ध खोप

४ माघ ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ३ का १०० घरपालुवा कुकुरलाई बिहीबार निःशुल्करुपमा रेविजविरुद्धको खोप लगाइएको छ । 

रेविज रोगविरुद्धको खोप कार्यक्रमअन्तर्गत नगरपालिकाको वडा कार्यालयले निःशुल्क एक दिने रेविजविरुद्धको खोप शिविर आयोजना गरी कुकुरलाई खोप लगाएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने वडामा रहेका कुकुर सधैँ जङ्गली जनावरको सम्पर्कमा रहने भएकाले रेविज सर्ने प्रवल सम्भावना हुँदा खोप लगाइएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 
खोप कार्यक्रमपश्चात् घरपालुवा खोप लगाइएका बाहेक भुस्याहा कुकुरलाई नियन्त्रण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिने उहाँको भनाइ रहेको छ । तीन महीनाका लागि रेविजविरुद्धको खोपले कार्य गर्छ पशु शाखाका नायब प्रावधिक कृष्णराज भट्टले भन्नुभयो, “खोप लगाएको तीन महीनाभित्र कुकुरलाई बुस्टर डोज लगाउनुपर्ने हुन्छ ।” 

उहाँका अनुसार चालू आवको हालसम्म नगरपालिका क्षेत्रमा दर्जन बढी घरपालुवा कुकुरमा रेविजको सङ्क्रमण देखापरेको छ । नजिकै रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका स्याल, फ्याउरोलगायतका जनावरले बस्तीमा छिरेर कुकुरल गायतलाई टोक्दा रेविज फैलिने गरेको पशु प्राविधिक भट्टले बताउनुभयो । 
नगरपालिका क्षेत्रमा झण्डै घरपालुवा कुकुरको सङ्ख्या भने एक हजार ३०० बढी रहेका छन् । भुस्याहा कुकुरको सङ्ख्या भने ८०० बढी रहेको छ ।

You can share this post!