जथाभावी पार्किङ गर्ने सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २५ पुस : तपाईं सवारी साधन चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । ट्राफिकले ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाउन सक्छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य शुरु गरेको छ । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन शुरु गरिएको बताउनुभयो । मङ्गलबारदेखि शुरु गरिएको उक्त अभियानमा ४५ चारपाङ्ग्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ । 

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ । 

यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारवाही शुरु गरेको हो ।-  रासस

You can share this post!