सुुन्तलाको दाउराले हात सेकाउदै कृष्कहरु

२१ मङ्सिर  : विगतमा बोटमा लटरम्म फल्ने पहेँलपुर बनेका सुन्तला टिप्ने हात यतिखेरको चिसो मौसममा तिनै सुन्तलाका दाउराले सेकाउनु काष्कीका कृषकको दैनिकी बनेको छ । कास्कीको पोखरा मात्र नभई प्रमुख शहर चितवन, बुटवल, काठमाडौँं लगायतका स्थानमा पुग्ने कास्कीको सुन्तला मासिने क्रमबढ्दै गईरहेको छ ।

झण्डै एक दशकयता सुन्तलामा फैलिएको सिक्टस ग्रिनिङ, ढुसी, पतेरोजन्य रोगले जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप बनिसकेको छ, बचेका स्थानमा पनि रोगका लक्षण देखा पर्न थालिसकेका छन् । वर्षेनी बोट सुक्दै गएपछि आयआर्जनको दिगो स्रोत जस्तै बनेका सुन्तला बगान फाँडेर कृषक दाउरा बाल्न थालेका छन् । कसैकसैले वर्षायाममा लौका, घिरौँलाका लागि थाँक्रो बनाउने गरेका छन् ।

विगतमा सुन्तलाको राम्रो उत्पादन गरी लाखौँ रुपैयाँमा बेच्ने किसानलाई अहिले भने चाख्न पनि बजारबाटै किन्नुपर्ने बाध्यता छ । कास्कीको भरतपोखरी क्षेत्रमा एक दशकअघिसम्म झण्डै छ हजार भन्दा बढी बोटमा सुन्तला फल्ने गरेकोमा अहिले सबै सखाप भएको स्थानीय हरु बताउछन् ।

सुन्तलाका बोट सुक्ने क्रमसँगै कृषक ठूलो मारमा परे पनि उनीहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको उहाँको भनाइ छ । कास्कीको कृष्तिनाच्नेचौर बाहेक जिल्लाका अधिकांश स्थानमा सुन्तला सखाप भएको कृषक बताउँछन् । सुन्तला मासिएपछि ती स्थानमा त्यही किसिमको उत्पादन दिने गरी विकल्पका रूपमा अन्य फलफूल एवं बिरुवा दिने भनिए पनि अहिलेसम्म पाउन नसकेको कृषकको गुनासो छ ।

सुन्तला खेतीको विकास तथा विस्तारका लागि कृषि कार्यालयमार्फत बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको तर त्यो पनि प्रभावकारी बन्न नसकेको कृषकको गुनासो छ ।

नेपालमै पहिलो पटक २०२५ सालमा कास्कीको मालेपाटनमा देखा परेको सिक्टस ग्रिनिङ रोग पछिल्लो समय देशैभरि गम्भीर समस्याका रूपमा बढ्दै गएको हो । विशेष गरी कास्कीको बेगनास, हंशपुर, भरतपोखरी, अर्मला, सिल्दुजुरे, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, थुम्की, रूपाकोट लगायतका क्षेत्रमा सुन्तला उत्पादन राम्रो हुने क्षेत्र मानिन्थ्यो ।

–––

You can share this post!