प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न

२०७५ असोज ६ गते शनिबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ ।

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः वरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ (कास्की) पुरस्कृत हुनुभएको छ । त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेली भाषाको गुगुल्डी मासिक र कल्पतरु द्दैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादब धनुषा, डा.अमर गिरी दाङ,  पुण्य पौडेल तनहुँ,  मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ । बिधागत पत्रकारिता पुरस्कार अन्तर्गत पदमसागर कक्षपति र अविन श्रेष्ठ, युवा सशक्तिकरणतर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारितातर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादव महिला सशक्तिकरणतर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत हुनुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारजगतलाई मर्यादित बनाउने, नियमन गर्ने एकमात्र अधिकारसम्पन्न आधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा आफ्नो कार्यक्षेत्र तथा कार्यक्षमता दुबैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिका निभाएकोमा खुशी व्यक्त गर्नुभयो । स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरी सम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पित श्रोतका नाममा व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षतामाथि प्रश्नचिन्ह खडा गरेको उहाँको धारणा थियो । सूचनामा यति शक्ति हुन्छ कि यसले मर्दै गरेको मान्छेको ज्यान बचाउन सक्छ भने कहिलेकाँही गलत सूचना सम्पे्रषण भएमा निर्दोष व्यक्तिलाई मृत्युको मुखमा पुर्याउन पनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेही बनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जति कार्य गर्दैछ, त्यो निकै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो  । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विभिन्न आन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रता हनन् गर्छन भन्ने भन्ने भ्रममा नपर्न आग्रह गर्दै मिडिया काउन्सिल बनाउँदैछौं, पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रता विश्वमा कतै नभएको धारणा राख्नुहुँदै मन्त्री बाँस्कोटाले सम्मानित तथा पुरस्कृत सवैलाई हार्दिक बधाई दिनुभयो।

 

प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडियाले गल्ती सच्याउने तत्परता देखाउनु महान कर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणको अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने धारणा ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा, सरकारी निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

स्रोतः महेन्द्रराज सिंह, प्रेस काउन्सिल नेपाल।

 

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार रु. एक लाख ५ हजार राशी

 

युवराज घिमिरे, काठमाडौं

वरिष्ठ पत्रकार तथा विश्लेषक युवराज घिमिरेले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । नेपाल–भारत मामिलामा विशेष जानकार घिमिरेले सन् २००० मा कान्तिपुर दैनिकको सम्पादक रही करिव डेढ बर्ष काम गर्नुभयो भने अन्नपूर्ण पोष्ट दैनिकमा ३ बर्ष प्रधान सम्पादकको जिम्मेवारीमा सम्हाल्नुभयो । यसअघि सन् १९८३ देखि १९९१ सम्म दि टेलिग्राफ दैनिक (कलकत्ता संस्करण), सन् १९९२ देखि १९९५ सम्म इण्डिया टुडेको विशेष संवाददाताको साथै इण्डियन एक्सप्रेसको कार्यकारी सम्पादक रही एक बर्ष कार्यानुभाव संगाल्नुभएका घिमिरेले पत्रकारितासम्वन्धी अनुसन्धान तथा खोजमूलक थुप्रै प्रकाशन गर्नुभएको छ । जसमध्ये शून्य समय, नेपालमा जातीय संघीयता, नेपालको शान्ति प्रक्रियामा मास मिडिया  रहेकाछन् ।

हाल देशसञ्चार मल्टिमिडियाको सम्पादक रहनुभएका घिमिरे इण्डियन एक्सप्रेसको स्तम्भ लेखक हुनुहुन्छ । बीबीसी नेपाली सेवामा कार्यक्रम उत्पादककोरुपमा दुई बर्ष काम गर्नुभएका घिमिरेले जर्मनी, युके, अमेरिकालगायतका देशको भ्रमण गरी थुप्रै अनुभव बटुल्नुभएको छ ।

पत्रकारितामा महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

यहाँलाई हार्दिक बधाई छ ।

 

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार रु. एक लाख ५ हजार राशी

राजबहादुर गुरुङ्, कास्की

राजबहादुर गुरुङ्को जन्म २०३० साल  पुस १२ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा भएको हो । पत्रकारितामा डिप्लोमा  राजबहादुरले जनसत्ता साप्ताहिकबाट २०५१ सालदेखि पत्रकारिता शुरु गर्र्नुभएको हो  । सूचना, देशान्तर, बिमर्श, तरुण, घटना र विचार, जनमन्थन साप्ताहिक, युनाइटेड, सन्ध्याकालीन दैनिक, सगरमाथा टेलिभिजन लगायतमा काम गर्नुभई पत्रकारितासम्वन्धी विशेष अनुभव बटुल्नुभएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखा, प्रेस युनियन, आदिवासी जनजाति पत्रकार महासंघ, रिपोटर्स क्लब कास्कीमा स्थापनाकालदेखि आवद्ध रहँदै आउनुभएको छ । गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार, तमु पत्रकारिता पुरस्कार, पार्वता पत्रकारिता पुरस्कारबाट सम्मानित राजबहादुरले युनाइटेड खबर डट कमको सम्पादकको जिम्मेवारीमा रहँदै विकास निर्माण तथा सामाजिक सेवामूलक संस्थाहरुमा समेत सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ ।

सुन्दर नगरी पोखराबाट दुई दशकदेखि पत्रकारिता र समाजसेवामार्फत महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

उहाँलाई हार्दिक बधाई छ ।

 

प्रेस काउन्सिलको ४९ औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिने पुरस्कार र पुरस्कृत पत्रकार र सञ्चारमाध्यमहरु

सि.नं.                             पुरस्कार                                         रकम रु.                                  व्यक्तिसंस्था

१       प्रेस काउन्सिल गोपालदाश पत्रकारिता पुरस्कार             रु.१०५ हजार                          युवराज घिमिरे , काठमाडौँ

 

सि.नं.                   पुरस्कार                                                               रकम रु.                      व्यक्तिसंस्था

१       प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार              रु.१०५ हजार                      राजबहादुर गुरुङ, कास्की

२       प्रेस काउन्सिल आचारसंहिता पुरस्कार                                             रु.५० हजार                  हाम्रो एफ.एम.रेडियो, दोलखा

३       प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार                             रु.३० हजार                      बृजकुमार यादव, धनुषा

४       प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार                           रु.२० हजार                 कल्पतरु साहित्यिक पत्रिका (प्रकाशक / सम्पादक नवराज पुडासैनी ), काठमाडौं

५       प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार                                                       रु.२० हजार       डा. अमर गिरी, दाङ

६       प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार                                       रु.२० हजार        गुगुल्डी मासिक (डोट्याली              भाषाको पत्रिका, सम्पादक/ प्रकाशक वीरबहादुर चन्द), कञ्चनपुर

७       प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार                  रु.२०, २० हजार     कृष्णमायाँ उपाध्याय, जुम्ला

नानीमैँया विष्ट, मकवानपुर

८       प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार        रु.२० हजार                         पुन्य पौडेल, कास्की

९       प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार                रु.२०, २० हजार             सुरेश यादव, सिराहा

गोपाल परियार, नवलपरासी

रिता मोक्तान, सुनसरी

१०      प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार     रु.२०, २० हजार              चन्द्र बाँनिया, काठमाडौं

उज्जवल पहाडी, काठमाडौँ

सागर पण्डित, तनहुँ

११      प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार        रु.२० हजार       मिमबहादुर रावल (रमेश) कालिकोट

१२      प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार          रु.२०, २०  हजार           अविन श्रेष्ठ (कार्टुन तर्फ), काठमाडौँ

पदमसागर कक्षपति (फोटोग्राफीतर्फ ), काठमाडौँ

 

 

 

बर्ष कर्मचारी पुरस्कार :

१. सहप्रशासकीय अधिकृत दीपक खनाल रु. २० हजार

२. कार्यालय सहयोगी रमा द्यौला  रु. २० हजार

 

कर्मचारी प्रोत्साहन पुरस्कार :

१. बिनय बजगाईँ, मिडिया अनुगमनकर्ता रु. १० हजार

२. सुमन महत, हलुका सवारी चालक रु. ५ हजार

२० वर्ष सेवा गरेवापत दीर्घ सेवा पदक उपप्रशासकीय अधिकृत रामशरण बोहरा

 

पत्रकारिता क्षेत्रमा योगदान दिनुहुने देहायअनुसार व्यक्तित्वलाई सम्मान गर्ने :

१. श्री केदारमान सिंह, काठमाडौं

२ .श्री मुक्तिनाथ खनाल, तनहुँ

३. श्री हरिकला अधिकारी, काठमाडौं

४. श्री रमेशकाजी स्थापित, काठमाडौं

 

 

You can share this post!