घोषणा गरेको तीन वर्षपछि भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान

११ साउन, काठमाडौं । भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । पहिलो किस्तबापत भारतले २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो ।

शुक्रबार भारतीय राजदुत मञ्जिव सिंह पुरीले पहिलो किस्ताको बराबरको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको अर्थमन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बरबरको सहयोगको घोषणा गरेको थियो । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको छ थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ ।

भूकम्प गएको ३ वर्षपछि भारतले पहिलो किस्ताको रकम दिएको हो । नुवाकेट र गोरखामा व्यक्तिगत आवास निर्माण प्रयोजनमा भारतले दिएको रकम खर्च गरिने सहसचिव आचार्यले बताए ।

भारतले पुनर्निर्माणका लागि ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने पनि भनेको छ । समान्यतया एक्जिम बैंकले गर्ने लगानीमा हुने शर्तहरु नै पुनर्निर्माणका लागि पनि राखिएका छन् ।

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरेको थियो । त्यसमध्ये ७५ अर्ब ऋण आयात-निर्यात (एक्जिम) बैंकमार्फत लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

भारतीय सरकारको जमानीमा एक्जिम बैंकले नेपाललाई वाषिर्क १ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।

भारतले आफूले दिन लागेको सहुलियत ऋण ठूला पुनर्निर्माण परियोजनामा खर्च गर्न प्रस्ताव गरेको छ । सहुलियत ऋणबाट ललितपुरको पुरातात्विक हरिहर भवन पुनर्निर्माण गर्ने पुनर्निर्माण प्राधिकरणको प्रस्ताव छ । यसका साथै भारतको ऋण लगानीमा विश्वविद्यालयका भवन, केही सरकारी भवन र पुरातात्विक सम्पदा पुनर्निर्माण गर्ने योजना छ । अन्य विभिन्न परियोजना पनि प्रस्तावित सूचीमा छन् ।

भारतले भने पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमा चासो देखाएको छ ।

You can share this post!