भारतीय पुलिसले कुटेपछि ट्याङ्कर चालकले रोके इन्धन ढुवानी

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवका अनुसार शनिबार भारतीय प्रहरीले ७ जना नेपाली ट्याङ्कर चालकमाथि कुटपिट गरेका थिए । कुटपिटबाट ती चालक घाइते भएको उनले बताए । भारतीय प्रहरीले वीरगञ्ज सुक्खा बन्दरगामा नेपाली चालकमाथि हमला गरेका श्रीवास्तवले जानकारी दिए ।

उक्त कुटपिटको घटनापछि सुरक्षा प्रत्याभूति माग गर्दै चालकहरूले इन्धन ढुवानी रोकेका हुन् ।

भारतीय पुलिसले कुटेको उक्त घटनापछि आइतबार वीरगञ्ज नाकाबाट इन्धन ढुवानी नै रोकिएको छ भने नेपाल आयल निगमको थानकोट र अमलेखगञ्ज डिपोमा इन्धन लोड/अनलोड पनि ठप्प छ ।

‘कुटपिट भएपछि चालकहरूले ढुवानी गर्न नसकिने भन्दै कामै गरेका छैनन्,’ श्रीवास्तवले भने ।

इन्धन ढुवानी रोकिएपछि महासंघले सुरक्षाको प्रत्याभूतिको माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई पहल गरिदिन आग्रह गरेको छ ।

महासंघका उपाध्यक्ष श्रीवास्तवका अनुसार विगत ५/६ दिनदेखि नै भारतीय पक्षबाट कुटपिटका घटना भएका छन् ।

वीरगञ्ज नाकाबाट दैनिक डेढ सयको हाराहारीमा नेपाली ट्याङ्करले इन्धन ढुवानी गर्छन् ।

You can share this post!