राधालाई यातना दिने भोले बाबालाई ५ वर्ष कैद सजायको फैसला

राधालाई यातना दिने भोले बाबालाई ५ वर्ष कैद सजायको फैसला

राधा भन्छिन्– अदालतले पनि अन्याय गर्‍यो

onlinekhabar


१९ जेठ, कैलाली । भोले बाबा बनेर युवतीहरुलाई यातना दिने कैलाली घोडाघोडी नगरपालिका–५, देउकलियाका रामबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासमा बिहीवार कैलाली जिल्ला अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद र एक लाख रुपिया जरिवानाको फैसला गरेको हो ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसको दिन उनले गाउँकै राधा चौधरीलाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए

सार्वजनिक स्थानमा युवतीहरुलाई यातना दिनका लागि सघाउने रामबहादुर उर्फ भोले बाबाका सहयोगीहरुलाई पनि कैद सजाय सहित जरिवाना फैसाला गरेको कैलाली जिल्ला अदालतले जानकारी दिएको छ । अदालतका अनुसार, पार्वती भनिने किस्मती चौधरीविरुद्ध एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरिएको छ । किस्मतीले यातना दिनका लागि सघाउनुका साथै राधालाई आफैंले पनि कुटपिट गरेकी थिइन् । यसैगरी, अर्का सहयोगी स्मारिका चौधरीलाई छ महिना कैद र २५ हजार रुपिया जरिवाना सुनाइएको छ । उनीहरुले सोही दिन हेमा चौधरी र मुना चौधरीलाई पनि कुटपिट गरेका थिए ।

रामबहादुरको सहयोगीकै रुपमा पक्राउ परेका अन्य तीन जनाले भने सफाइ पाएका छन् । चनकलाल चौधरी, वेदप्रसाद चौधरी र राम बहादुरकी आमा सीतारानी चौधरीलाई निर्दोष ठहर गरी सफाइ दिइएको हो ।

नारी हक अधिकारको चर्चा हुने अन्तर्राष्ट्रिय नारी दिवसको दिन बोक्सीको आरोपमा राधा सहितका युवतीहरुमाथि भएको दर्दनाक घटनाले मुलुक नै स्तब्ध भएको थियो । युवतीहरुमाथि यातना भइरहँदा आसपासबाट आएकाहरु रमिते बनेका थिए ।

अदालतले पनि अन्याय गर्यो: राधा

देउकलिया घटनाका पीडित राधा चौधरीले कैलाली जिल्ला अदालतले गरेको फैसलाप्रति चित्त नबुझेको बताएकी छन् । उनले आफूलाई कुनै पनि जानकारी नगराएर दोषीलाई कम सजाय दिने वा उम्काउने नियतका साथ गुपचुपमा फैसला गरेको आरोप लगाइन् ।

‘मलाई यातना दिने विरुद्ध फैसला गर्ने बेलामा मलाई जानकारी गराउनु होला भनेर मैले न्यायाधीशलाई भनेकी थिएँ’, उनले भनिन्, ‘तर, गुपचुपमा फैसला गरियो । मलाई कुनै पनि जानकारी गराइएन । आज थाहा पाएँ । झनै अन्याय भएको महसुस भयो । चिन्ताले खाना पनि खाएको छैन ।’

दोषीहरुविरुद्ध सजायको फैसला हुँदा पनि आफूले न्याय महसुस गर्न नसकेको राधाले बताइन् । ‘मैले जीवनमा कहिल्यै बिर्सन नसक्ने गरी पीडा पाएँ, उनीहरुले ममाथि अन्याय गरे । तर, त्यसको सजाय पाँच वर्ष, एक वर्षमात्रै हुने त ?’, उनले अगाडि थपिन्–‘न्याय दिन्छौं भनेर सबैले भने । न्यायाधीशले पनि त्यही भन्नु भएको थियो । तर, मैले न्याय महसुस गर्न सकिनँ ।’

घटनाको बखत दोषीहरुमाथि कम्तीमा पनि ८/१० वर्षको जेल सजाय हुने भनेर सबैले भने पनि अन्ततः गुपचुमा फैसला गरेर कम सजायको फैसला गरिएको राधाको आरोप छ । भावुक हुँदै भनिन्, ‘यस्तो हुन्छ भनेर थाहा पाको भए मैले दोषीमाथि कारबाहीको माग गर्दै मुद्दा प्रकृया नै अगाडि बढाउने थिइनँ । जहाँबाट न्याय पाउनु पर्ने हो, त्यही ठाउँबाट पनि अन्याय महसुस गरँे ।’

राधाले आफ्नो गाउँमा निर्धक्क साथ बस्न सक्ने र हिँड्न सक्ने वातावरण अझै पनि नबनेको बताइन् । उनले गाउँका केहीले बोल्न थाले पनि अझै कतिपय व्यक्तिहरु आफूसँग नबोल्ने गरेको गुनासो गरिन् ।

बोक्सीको आरोप लगाएर राधालाई निर्मम यातना दिएको घटनापछि देउकलियामा बोक्सी प्रथा विरुद्धको आवाज उठे पनि वातावरण अझै पनि सहज बन्न सकेको छैन । स्थानीयका अनुसार देउकलियामा अझै पनि नक्कली भोले बाबा रामबहादुरको समर्थन गर्ने व्यक्तिहरु रहेका कारण रामबहादुर जेलबाट छुटेर आएपछि फेरि पुरानै पेसामा फर्कने सम्भावना समेत बलियो रहेको छ ।

You can share this post!