इंग्ल्याण्डमाथि स्कटल्याण्डको ऐतिहासिक जित

एजेन्सीलन्डन, जेठ २८

एसोसिएट स्कटल्याण्डले इंग्ल्याण्डमाथि एकदिवसीय क्रिकेटमा ऐतिहासिक जित हात पारेको छ।

वेस्ट इन्डिजसँगको विश्वकप छनोटको म्याचमा जित्ने स्थितिमा हुँदा पानी परेर विश्वकप जान नपाएको स्कटल्याण्डले आइतबार एडिनबर्गमा भएको खेलमा इंग्ल्याण्डमाथि ६ रनको सनसनीपूर्ण जित हात पार्दै एसोसिएट राष्ट्रले पनि मौका पाए बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने देखाएको छ।

टस हारेर ब्याटिङको लागि बोलाइएको स्कटल्याण्डले क्यालम म्याकलिउडको अविजित १४० रनको योगदानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३७१ रन जोडेको थियो।

जवाफी ब्याटिङमा इंग्ल्याण्डका ओपनर जेमी बेयर्सटोले ५४ बलमा सतक हानेर बलियो सुरूआत दिए। कुनै समय ३६.३ ओभरमा २७६ मा सात विकेट गुमाइसकेको इंग्ल्याण्डका लागि मोइन अली (३३ मा ४६) र लियाम प्ल्केंटले (४५ मा ४७) ९ ओभरमा ७१ रनको साझेदारी गर्दै जित नजिक पुर्‍याएका थिए।

तर २८ बलमा २५ रनमात्र बनाउन बाँकी हुँदा अलीले छक्का हान्ने प्रयास गर्दा बाउन्ड्रीमा क्याच आउट भएपछि इंग्ल्याण्ड अन्ततः ६ रनले पराजित भयो।

You can share this post!