रेशम चौधरीलाई तत्काल रिहाई गर्न राजपाको दवाव

काठमाडौं– राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहाई गर्न सरकारलाई पुनः दवाव दिन सुरु गरेको छ । पार्टीको बुधबार बसेको अध्यक्ष मण्डल बैठकले ज्यान मार्ने अभियोग अन्तरगत जेल चलान भएका कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई दवाव दिएको हो ।

सांसद चौंधरीको रिहा गरी सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए । टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । बैठकमा संविधान संशोधन कहिले गर्ने भनि सरकारको आधिकारिक धारणा माग गर्ने विषयमा पनि छलफल गरिएको नेता यादवले बताए ।

बैठकमा पार्टी संसदीय दल विधान निर्माणका विषय पनि प्रवेश गराइएको छ । संसदीय दलको नेता चयन गर्ने प्रस्तावसहित दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता यादवले बताए । बैठक निरन्तर जारी रहने र आसन्न पार्टीको महाधिवेशनको तयारीका लागि आवश्यक निर्णय लिने पनि राजपाले जनाएको छ । मंगलबार बसेको अध्यक्ष मण्डल बैठकले कल्पना पाण्डेलाई प्रदेश ५ प्रदेशसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

SOURCE ratopati.com

You can share this post!