पेरिसडाँडामा ओलीले भनेः ‘आउनुहोस् हाम्रा दुईवटा कार्यालय छन्, यसैमा मिलेर बसौं’

काठमाडौं–प्रधानमन्त्री एवम् नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले दुई पार्टी मिल्दा विरोधीहरुले चित्त खाएको बताएका छन् । आज नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडास्थित पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले प्रचण्ड र ओली सँगै बस्न सक्लान र ? भनेर भ्रम फिजाउँनेहरुलाई दुई पार्टी बीचको एकताले गतिलो जवाफ दिएको बताए । ४८ वर्षदेखि मिल्न नसकेका आफुहरु शान्तिप्रक्रियामा आएपछि मिलेको बताउँदै अध्यक्ष ओलीले यो कदम पार्टी–पार्टी मिलेर ठूलो पार्टी बनाउन सकिन्छ भन्ने उदाहरण भएको समेत प्रस्ट पारे ।

उनले भने, ‘हामीले ०२८ मा हतियार उठायौं, उहाँहरुले २०५२ मा उठाउनुभयो । उहाँहरुले हामीले हतियार उठाएको कदमको विरोध गर्नुभयो, हामीले उहाँहरुले हतियार उठाएको कदमको विरोध गर्यो, अहिले शान्ति प्रक्रियामा आएपछि हामी मिल्यौं । यो कदम पार्टी–पार्टी मिलेर ठूलो पार्टी पनि बनाउन सकिन्छ भन्ने उदहारण हो । नमिल्ने सकिने केही छैन ।’

अध्यक्ष ओलीले साना कम्युनिष्ट पार्टीहरुलाई समेत जनताको हितमा काम गर्न एउटै बाटोमा आउन आग्रह गरे । विप्लव र मोहन वैद्य किरणहरुतर्फ संकेत गर्दै अध्यक्ष ओली व्यंगात्मक शैली भने, ‘आउनुहोस् हाम्रा दुईवटा कार्यालय छन्, तपाईहरुका एउटा पनि छैनन्, यसैमा मिलेर बसौं, पद पनि दिऔंला ।’

प्रधानमन्त्री समेत रहेका ओलीले अर्को एक प्रसंगमा पार्टी नेतृत्व र सरकारको नेतृत्व गर्ने विषयमा आफुहरुलाई लोभ नभएको समेत स्पष्ट पारे । उनले भने, ‘हामी सबै दुईपटक प्रधानमन्त्री भैसक्यौं, ३० वर्ष प्रचण्ड, १५ वर्ष माधव नेपालले पार्टी चलाईसके, अब त भूतपूर्वभन्दा माथि फोटो टाँसिदैन ।’ उनले आफुहरु अब शहिद, अपाङग र घाइतेहरुको सपना पूरा गर्न लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी संगठनात्मक रुपले सही ढंगले व्यवस्थापन गर्ने बताए । निकै कम समय बोलेका दाहालले हिजोको समयमा लेनिननले रुसी समाजलाई रेलको गतिमा अघि बढाउने दाबी गर्नुभएको उदाहरण प्रस्तुत गर्दै  अहिले आफुहरुले भने विमानको गतिमा नेपाली समाजलाई अघि बढाउन चाहेको दाबी गरे ।

You can share this post!