नेता लालबाबु पण्डित आफूलाई ‘गरिब’ भन्न रुचाउँछन् । जब २०७४ साल कात्तिकमा उनी सङ्घीय सांसदका लागि मोरङ–६ बाट उम्मेदवार थिए, त्यतिबेला उनले पत्रकार सम्मेलनमै गुनासो गरे, म गरिब छु, चुनावी खर्च छैन ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले २०७४ साल कात्तिक २१ गते विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो भनेका थिए ।
‘२०४८ सालमा म ३० हजार रुपियाँले चुनाव लडेँ । २०५१ मा चुनावी खर्च ७० हजार पुग्यो । २०५६ सालमा त्यो खर्च साढे ३ लाख पुग्यो । अहिलेको सहयोगको कुरा गर्नुहुन्छ भने कतारमा मजदुरहरूले १ सय नेपाली रुपैयाँ उठाउन थालेका छन् । अन्य ठाउँमा पनि विभिन्न व्यक्तिहरूले पचास, सय उठाउन थालेका छन् ।’
उनले आफूसँग चुनाव लड्न पैसा नभएको भन्दै पत्रकार सम्मेलनमै पत्रकारसँग पनि सहयोग गर्न आग्रह गरेका थिए ।
चुनावको सरगार्मी रहेको बेला रातोपाटीको टीम मंसिरमा विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी बगैँचामा रहेको उनको निवासमा पुगेको थियो ।
उनीसँग गरिएको कुराकानीमा पण्डितलाई अन्तिममा सोधेका थियौँ, चुनावमा तपाईंका चुनौती के हुन् ? उनले त्यतिबेला आर्थिक रूपमा कमजोरीलाई आफ्नो चुनौती ठानेका थिए ।
‘त्यसो भए चुनावी खर्च कसरी जुटेको छ ?’, भन्ने प्रश्नमा पण्डितले जवाफ दिएका थिए, ‘म गरिबलाई गरिबको सहयोग छ । १००–२०० को रिचार्ड कार्ड पनि आएको छ । एक एक सय उठाएर कतारबाट मजदुरले ६० हजार पठाएका छन् । अस्टे«लियबाट राधिका पोखरेलले ५ लाख १ सय ११ रुपियाँ पठाउनुभयो । उहाँको आफन्तले पत्रकार सम्मेलन गरेर मलाई चेक दिनुभयो । म जनताको बीचमा छु । मत किनेर म चुनाव लड्दिनँ । नैतिकताको राजनीति गर्छु ।’
तर, अहिले दोस्रो पटक लालबाबु पण्डित मन्त्री बनेपछि उनले जारी गरेको सम्पत्ति विवरणले धेरैलाई चकित बनायो ।
जेठ ९ गते मन्त्रिपरिषद्ले जारी गरेको सम्पत्ति विवरणमा लालबाबु पण्डितको चल सम्पत्ति मात्र ६१ लाखभन्दा बढी देखिएको छ ।
जारी सम्पत्ति विवरणअनुसार लालबाबु पण्डितको हालको सम्पत्तिमध्ये एभरेस्ट बैङ्कमा २५ लाख, कृषि विकास बैङ्कमा ३० लाख र १० तोला सुन अर्थात् झण्डै ६ लाखको सुन र १५ तोला चाँदी रहेको छ ।
यसको स्रोतको रुपमा उनले पैत्रिक, स्वआर्जन र वचत भनेका छन् ।
जबकी ७ महिनाअघि कात्तिकमा आफूसँग चुनाव लड्ने पैसासमेत नभएको भन्दै लालबाबु पण्डितले सर्वसाधरणलाई सहयोग गर्न आग्रह गरेका थिए, त्यतिबेलाको कथा र अहिलेको तथ्यमा व्यापक परिवर्तन भएको छ ।
उनीसँग चुनाव लड्ने पैसा नभएको भन्दै मिडियाबाजी गरेपछि लालबाबु पण्डितलाई अस्ट्रेलियामा बस्ने राधिका पोखरेल एक्लैले ५ लाख ११ हजार १ सय रुपियाँ सहयोग गरेकी थिएन् । त्यसैगरी, कतारमा रहेका मजदुरहरूले पण्डितलाई चुनाव खर्च भन्दै ६० हजार पठाएका थिए ।
त्यति मात्रै होइन, मोरङ–६ बाट उम्मेदवार बनेका लालबाबुले सुभेच्छुकहरुले आफूलाई चुनाव खर्चबापत रिचार्ज कार्डहरूसमेत उपलब्ध गराएको बताएका थिए ।
त्यसो त चुनावी अभियानका क्रममा अन्तरवार्ता लिन पुगेका एक पत्रकारलाई अन्तरवार्ता लिइसकेपछि २ सय रुपैयाँको रिजार्च गरी चुनावमा सहयोग गरिदिनसमेत आग्रह गरेको ती पत्रकारले किस्सा सुनाउने गरेका छन् ।
तर, चुनाव जितेर सांसद हुँदै मन्त्री बनेको छाटो समयमा लालबाबुको सम्पत्तिमा कसरी एकाएक बढोत्तरी आयो त ?
मन्त्री पण्डित भन्छन्, ‘श्रीमतीको पैसा मेरो चुनावमा कसरी खर्च गरुँ ?’
२०५९ सालमा ललितपुर निवासी बिमला महतसँग मेरो विवाह भएको थियो । त्यतिबेला मेरी श्रीमतीको माइतीले उनलाई केही जग्गा दिएका थिए ।
दिएको जग्गा मध्ये आधाजस्तै करिब २०६५–६६ सालमा बेचेर बैंकमा राख्यौँ । यो रकम मैले २०७० सालमा बुझाएको सम्पत्ति विवरणमा पनि उल्लेख गरेको छु । ब्याज आएर त्यो रकममा केही बृद्धि भएको छ । मन्त्री पदमा रहँदा तलब आम्दानी पनि भएको छ ।
मसँग भएको सम्पत्ति मेरी श्रीमतीलाई उनको परिवारले छोरीलाई भनेर दिएको सम्पत्ति हो । त्यो सम्पत्तिलाई मेरो चुनावका लागि कसरी प्रयोग गरुँ ?
चुनावको बेला मलाई ८ लाख रुपैयाँ जति चन्दा आएको थियो । पार्टीको जिल्ला संगठनले पनि केही खर्च गरेको छ । जसको विवरण पार्टीमा बुझाइएको छ । चुनावमा कूल कति खर्च भयो भन्ने विवरण पनि मैले पार्टीलाई बुझाइसकेको छु ।
यसबीचमा मन्त्रीको तलब र भत्ताबाट घर खर्च चलेको थियो ।
मेरो सम्पत्ति विवरणको बारेमा अनावश्यक प्रचारबाजी भयो ।