सिन्डिकेटको पक्षमा बोल्नेलाई तत्काल जेल हाल्ने मन्त्री यादवको चेतावनी |

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने  बताएका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताए । उनले भने, ‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीहरुले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किनकी अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ ।’

साक्षात्कारमा बोल्दै मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने,‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं ।’  प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्छ भनेकोले सरकार सोही अभियानमा लागेको उनको भनाई थियो ।

उनले थपे, ‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाहा«े हुँदो रहेछ ।’ उनले नेपालमा अब कुनै पनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए ।  मन्त्री यादवले भने, ‘नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तर पनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं ।’

उनले नेपालको व्यापार घाटा घटाउनको लागि सरकारले उत्पादन बढाउनुपर्नेमा जोड दिए । ‘अल्लो, अदुवा, अलैंची र पस्मिनाजस्ता उत्पादनहरु हाम्रो ब्राण्ड हुन्, यीनीहरुको मार्केट बढाउनुपर्छ’, उनले थपे ।  तिलगंगा आँखा अस्पतालले नेपालमै लेन्स उत्पादनको काम गरिरहेकोले सरकारले दश करोड रुपैयाँ सहयोग प्रदान गरेको बताउँदै मन्त्री यादवले भने, ‘नेपालमा सियो पनि उत्पादन हुँदैन भन्ने थियो, तर यहाँ लेन्स उत्पादन भैरहेको छ, यो कुरा कसैलाई पनि थाहा छैन, अब हामीले स्वदेशी उत्पादनहरुलाई निर्यात गरेर विदेशी उत्पादनहरुको आयात कम गर्नुपर्छ ।’

नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारत भन्दा पनि कम रहेकोले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय परिस्थिति बुझिदिनको लागि समेत उनले आग्रह गरे । उनले भने,‘हामी कुनै पनि चीज लुकाउने पक्षमा छैनौं, म सबै कुरामा खुल्ला छु ।’

मन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सरकारले उच्च सम्मानका साथ स्वागत गर्ने विश्वास दिलाए । आफूहरु भारत भ्रमणमा जाँदा नेपालको प्रधानमन्त्रीलाई भव्य स्वागत भएको स्मरण गराउँदै उनले भने,‘केही समय अघि हामी भारत भ्रमणमा गएका थियौं, हाम्रो प्रधानमन्त्रीलाई भारतमा भव्य स्वागत भएको थियो, हामी पनि उहाँलाई भव्य स्वागत गर्छौं ।’ नेपालीहरुको संस्कार नै पाहुनालाई स्वागत गर्ने भएकोले मोदीको स्वागतको लागि कुनै कसर बाँकी नराख्ने मन्त्री यादवको भनाई थियो ।

 www.Ratopati.com बाट साभार गरिएको

You can share this post!