‘भात खान काठमाडौं आएको थिएँ, अहिले त्यही भात खान हुँदैन’

काठमाणडाै, श्रावण ११ । लकडाउनमा खुसी हुने विरलै व्यापारीमध्ये एक हुन्, राजेन्द्र केसी।

काठमाडौं, यट्खास्थित श्री कन्या माध्यमिक विद्यालयको ठ्याक्कै अगाडि छ उनको मिठाई पसल। ५५ वर्षीय राजेन्द्रलाई अहिलेको व्यापारबारे सोध्दा जवाफ दिए, ‘बरू लकडाउनमै राम्रो व्यापार थियो। अहिले त त्यो बेला जस्तो हुन्न।’

कसरी नि?

‘सबै व्यापारीले डराएर पसल बन्द गरे, हामीले गरेनौं,’ उनले सोझो जवाफ दिए, ‘अन्त नखुलेपछि सबै ग्राहक हाम्रा भए।’

लकडाउनको ११ दिनसम्म त उनले पनि अरूझैं पसल बन्दै गरे। कोरोनाले घरबाट बाहिर निस्कनसमेत डराए। विस्तारै आफूसँग भएको पैसा सक्किन थाल्यो। थैली रित्तिँदै गएपछि डर पनि धिमा भयो। जे सुकै होस् भनेर पसल खोले।

‘प्रहरीहरू गाली गर्न, लठ्ठी हान्न खुब आउँथे, तर हामीले बन्द गर्न मानेनौं,’ राजेन्द्रले निर्धक्क हुँदै भने, ‘कि हाम्रो भाडा तिर्देऊ, रासन देऊ, होइन भने पसल खोल्न देऊ भनेर कराएपछि उनीहरूले सताउन छाडे।’

अहिले अरू पसल पनि खुलिसके। ग्राहक कम भएको सुनाउँदै उनले भने, ‘त्यसमाथि असार–साउन महिनामा खास व्यापार हुँदैन। गर्मी हुन्छ, पानी पर्छ। बाहिरको खाना खायो भने बिरामी भइन्छ भनेर त्यति खाँदैनन्।’

विपत्ति धेरैका लागि कहर बन्दा राजेन्द्रका लागि भने प्रायः अवसरै बनेको छ। यसअघि भुइँचालोमा पनि त्यस्तै अवसर मिलेको उनी बताउँछन्, ‘त्यो बेला सबै व्यापारी आफ्ना गाउँतिर गए। हामीले भने दाउरा बालेर सडकमै पकाएर बेच्यौं।’

राजेन्द्र काठमाडौंका स्थानीय होइनन्, चित्लाङदेखि आएका हुन्।

२०३६ सालतिर चित्लाङबाट काठमाडौं आउँदा उनलाई एउटै कुराले आकर्षित गरेको थियो– काठमाडौंमा भात खान पाइन्छ।

गाउँमा वर्षदिन काम गरेर ६ महिना पनि खान पुग्दैनथ्यो। त्यो बेला मकै र गहुँ मात्र खेती हुन्थ्यो। ढिँडो मात्रै खान पर्ने भएपछि उनी काठमाडौंको भातले लोभिए।

काठमाडौं आउँदा राजेन्द्र १३-१४ वर्षका थिए। गाउँकै साथीहरूले उनलाई गणेशथान नजिकैको एक मिठाई पसलमा काम लगाइदिए। यहाँ आएपछि उनले गाउँमा जस्तो ढिँडो खानु परेन। बरू मिठाईको गुलियोमा लामो समय भुल्लिन पाए।

‘साहुकामा तीन–चार बजे उठेर हलुवा, जेरी–स्वारी बनाउनुपर्थ्यो। बिहान हुन्जेलसम्म त आफ्नो पेट पनि भरिइसक्थ्यो। टन्न खायो अनि मज्जाले काम गर्‍यो,’ किशोरावस्थामा काम गर्दाको अनुभव सुनाए, ‘मिठाई पसलमा काम गरेपछि खान बन्देज हुँदैन। चोरेर नखाऊ, हाम्रो अगाडि जति पनि खाऊ भन्थे।’

त्यहाँबाट राजेन्द्रले इन्द्रचोक, क्षत्रपाटी, लाखाछेँ लगायत विभिन्न ठाउँका पसलमा खटेर १४ वर्षको अनुभव बटुले।

एक दिन काम गरिरहेको पसलका साहुले सुझाएछन्, ‘कति अरूकोमा मात्रै काम गर्छस्? आफ्नै पसल खोल्।’

राजेन्द्रसँग अनुभव छँदै थियो, ढाडस पनि मिल्यो। २०५२ सालमा उनले आफ्नै पसल खोले। साहुले नै ६० हजार रूपैयाँमा अहिलेको पसलभन्दा माथि यट्खा चोकमा पसल किनिदिए। ५० टिन घ्यू, तीन बोरा मैदा, १० बोरा चिनी जमानी बसेर उधारो लिइदिए।

त्यति बेला पसल खोल्दा ‘बधाइ’ र ‘शुभकामना’ ओइरिनुपर्ने हो। राजेन्द्रलाई भने धेरैले चुनौतीबारे सम्झाइदिन्थे, ‘नेवारै नेवारको बाहुल्य भएको ठाउँमा तिम्रो पसललाई कसैले हेर्दैन। यहाँ पसल गरेर खान सक्दैनौ।’

उनले कसैको सुनेनन्। केवल आफ्नो मनको सुने– आजकल त्यस्तो हुँदैन। मान्छेहरू जातित्वभन्दा मीठो जहाँ छ त्यहीँ जान्छन्। अझ १४ वर्षसम्म अरूकोमा काम गरेको अनुभव पनि त छ।

भयो पनि त्यही।

स्थानीय नेवारहरू प्रायः नेवारकै पसलमा गए पनि बाहिरका मान्छे र बाटोमा ओहोरदोहोर गर्नेहरू आउन छाडेनन्। नेवारको पसलमा चिनी धेरै भएको सेल पाइन्छ, उनको सेलमा चिनी कम भएकाले मधुमेह भएकाहरू पनि खोजीखोजी आउँछन्।

काठमाडौंका रैथाने नभए पनि राजेन्द्रले चित्लाङभन्दा धेरै समय यहाँका गल्लीमा बिताएका छन्। धेरैले त उनलाई यहीँका सम्झिएर नेवार भाषामै कुरा गर्छन्।

उनको मूल गाउँ पनि नेवार बाहुल्य भएकाले जवाफ फर्काउन गाह्रो हुन्न, ‘सानैदेखि नेपाल भाषा बोल्न आउँथ्यो, त्यसैले सजिलै भयो। कोही पर्वते भाषा बोल्नै नआउने हुन्छन्, उनीहरूसँग संवाद गर्न गाह्रो हुन्छ। उनीहरूकै भाषामा बोलेपछि आफ्नै ठान्ने पनि भए।’

राजेन्द्रको पसल श्रीमतीको नामबाट ‘सीता मिठाई भन्डार’ ले दर्ता छ। यही नामबाट उनले कर तिर्दै आएका छन्। पसलमा भने उनले ‘यट्खा सेल पसल’ भनेर साइनबोर्ड राखेका थिए। स्थानीय चुनावताका साइनबोर्ड हटाउनुपर्‍यो। तर धेरैले यही नामले चिन्छन्।

पसलमा उनलाई श्रीमती सीताले पनि सहयोग गर्छिन्। केही वर्षयता हर्निया रोगका कारण उनी गह्रुंगो सामान उठाउन सक्दिनन्। तीनपटक त शल्यक्रिया नै भइसक्यो। त्यसैले, सामान तयार गर्ने र बेच्नमा सीताको सहयोग रहन्छ।

राजेन्द्रले २०४९ सालमा प्रेम विवाह गरेका हुन्। मिठाई पसलमा काम गर्दैताका छिमेकमै बस्ने सीतासँग उनको प्रेम बसेको थियो। उनीहरूको प्रेमबारे थाहा पाएपछि दिदीले बुवालाई गाउँबाट झिकाएर बिहे गरिदिए। १७–१८ वर्षको केटौले उमेरमा बिहे त गरे, तर आफ्नो जीवनका एकल निर्णय लिन सक्ने भइसकेका थिएनन्। त्यसैले साहुले दिएकै कोठामा सीतालाई राखे। त्यहीँ उनीहरूकी ठूली छोरी जन्मिइन्।

‘त्यो बेला मेरो तलब तीन सय रुपैयाँ थियो। कोठा ३०-३५ रुपैयाँमा त आउँथ्यो तर आँट्नै सकिनँ,’ आँट्न नसक्नुको कारण अर्को पनि थियो, ‘साहुले भनेको समयमा पैसा दिन सक्थेनन्। पैसा नै नभएर एकपटक कयौं दिनसम्म सस्तोमा पाइने काउली मात्रै खाएका दिन पनि छन्।’

पछि दिदी–भिनाजुले आर्थिक सहयोग गरे। त्यसै अन्तरालमा सीता गाउँमा र उनी सहरमा एक्लै काम गर्न थाले। ०५१ सालमा राजेन्द्रका बुवा बिते। बुवा खसेको ६ महिना नपुग्दै कान्छी बहिनी बितिन्। काठमाडौंबाट नजिक भए पनि चित्लाङमा गाडी गुड्ने बाटो छैन। बिरामी बहिनीलाई स्ट्रेचरमा बोकेर बिजोगसँग ल्याएको उनलाई अझै सम्झना छ।

त्यही झोंकमा उनले संकल्प लिएछन्, ‘यो ठाउँमा बाटो नखनेसम्म फर्किन्नँ।’

त्यही झोंकमा १० हजार पर्ने भैंसी ६ हजारमै बेचे र ०५२ सालमा घरै छाडेर काठमाडौं आएर पसल खोले।

सीताले नजान भनेर सुझाएकी थिइन्। तर उनी मानेनन्। गाउँको २० रोपनी खेतमा अहिले चिन्जानकै मान्छेले कमाइरहेका छन्। उनी भने मिठाई पसलमै रत्तिएका छन्।

राजेन्द्रले पसल खोल्नुअघिको १४ वर्ष ८–१० मिठाई पसलमा काम गरे। लामो अनुभवबाट भन्छन्, ‘मिठाई पसलको काममा जसले पैसा बढी दिन्छ, त्यतै जाने हो। अहिलेसम्म त्यही चलेको छ। काम जान्यो भने जसले पनि राखिहाल्छ।’

उनले अन्तिममा काम गरेको सोह्रखुट्टेमा भने त्यो लागू भएन। काठमाडौं गणेशथानमा उनले एउटा कोठासहित ६ हजार तलबमा काम गरेका थिए। त्यो छाडेर उनी ४ हजार तलबमा सोह्रखुट्टे पुगे। पैसाभन्दा उनलाई काम सिक्ने लोभ थियो। त्यहाँ भारतीय मिठाईहरू लालमोहन, रसवरी, चमचम, सोनपापडी लगायत बनाउन सिके। तिनै साहुले उनलाई पसल खोल्न सहयोग गरे।

‘भारतीय मिठाई हाम्रोभन्दा फरक र धेरै परिकार हुन्छन्। त्यसका लागि पसल पनि स्ट्यान्डर्ड चाहिने भएकाले त्यसमा हात हालिनँ,’ साघुँरो गल्लीमा पसल खोल्दाको अनुभव सुनाए।

पहिले उनी पसलमा आलु चिप्स, फुरुन्दाना, लाखमरी पनि बेच्थे। काम गर्नेहरू पनि राखेका थिए। कमाइ दिनकै १५-१६ हजार हुन्थ्यो। अहिले कामदार छैनन्, परिकार घटाएर सेल, पकौडा, ग्वारामरी, आलु चप लगायत बेच्छन्। कमाइ पनि घटेर दिनको ६-७ हजार मात्र हुन्छ।

पसलको आयले राजेन्द्रले ६ जनाको परिवारको जीविकोपार्जन धाने। दुई छोरीको बिहे भइसकेको छ भने दुई छोरा १२ र स्नातक पढ्दैछन्।

‘पसलको कमाइ त्यत्ति हो। दुई छोरीको बिहे गरिदिएँ र दुई छोराको व्रतबन्ध,’ उनी सन्तुष्ट सुनिन्छन्।

राजेन्द्र एउटै कुरामा चुक्चुकाउँछन्। २०५५ सालतिर साथीहरूले उनलाई चन्द्रागिरिमा जग्गा किनौं भनेका रहेछन्। चार आना जग्गा ७० हजारमा पाउने समयमा उनीसँग दुई लाख रुपैयाँ थियो। त्यस बेला १० आना जति जग्गा किनेको भए अहिले अर्बपति हुन्थेँ भन्ने उनलाई लाग्छ।

उनलाई एउटै कुराले पिरोल्छ- छोराछोरीलाई निजी स्कुलमा पढाउन नपाउनु। गाउँमा दुई कक्षासम्म पढेका राजेन्द्रले २०३५ सालतिर ३० रुपैयाँ तिर्न नसकेर पढाइ छाड्नु परेको थियो। आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिऊँ भन्ने उनलाई थियो।

राजेन्द्रलाई लाग्थ्यो – सरकारी स्कुल पढायो भने मान्यता पाइन्छ। जागिर खान सजिलो हुन्छ।

त्यही सोचले उनले चार सन्तानलाई घर आडैको श्री कन्या माध्यमिक विद्यालयमा भर्ना गरिदिए। तर उनले सोचेजस्तो भएन।

अहिले उनलाई छोराछोरीको पनि एउटै गुनासो रहन्छ, ‘तपाईंहरूले प्राइभेटमा पढाएको भए पो हामी राम्रो पढ्थ्यौं, राम्रो जागिर पाउथ्यौं। सरकारीमा पढायौ, साथी पनि हाम्रै स्तरका भए।’

यस्तो सुन्दा राजेन्द्रलाई पनि ‘त्यो बेला आफ्नो दिमाग उल्टा भएछ’ भन्ने लाग्छ।

उनका कान्छा छोरालाई पनि श्रीमतीलाई झैं हर्निया छ। दुईपटक १८ र ४० हजार रूपैयाँ शल्यक्रियामा खर्च गरिसके। अब तेस्रोपटकका लागि १ लाख बोकेर आउन डाक्टरले भनेका छन्। पसलको र अरू गरी २० हजार रुपैयाँ मासिक तिर्नु त छँदैछ।

उनी आफैं मधुमेहका रोगी हुन्। दिनकै सय रुपैयाँको औषधि खानुपर्छ।

‘काठमाडौंमा भात खान आएको मान्छे अहिले भातै खान नहुने रोग लागेको छ,’ उनी हाँस्दै सुनाउँछन्, ‘मिठाई पसलको गुलियोमा भुल्दा भुल्दै चिनी रोगले आफैंलाई समातेछ। आजकल फेरि ढिँडो, रोटी नै खानुपर्छ।’

राजेन्द्रलाई आँखाको पनि समस्या छ। डाक्टरले धुँवामा नबस्न सुझाएका छन्। तर अर्को काम गर्न गाह्रो हुने भएकाले यो पेसा छाडिहाल्न सक्दैनन्।

‘अब दुःख गर्न सक्ने त्यही ५-६ वर्ष त होला। पछि छोराहरूको बिहे गरेपछि गाउँ फर्किएर बस्न मन छ,’ उनले भने, ‘त्यति बेलासम्म त गाउँसम्म पुग्ने बाटो पनि बन्ला नि।’

सेतोपाटीबाट

You can share this post!