मनाङकाे तापक्रम माईनस २२ डिग्रि ,स्थानियहरु सहरतिर झर्नेक्रम वढ्याे

मनाङ:हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ।दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो। हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, “चिसोले धारामा पानी जमेको छ। खोलानालामा पूर्णरूपमा पानी जमेको छ। हिउँ कम भए पनि यहाँको चिसोले ग्यास बलेको छैन। सवारीसाधनको आवतजावत न्यून छ। पिउने पानी जोहो गर्नै मुस्किल छ।”

चिसो पनि उसैगरी बढ्दै गएको उनले बताए। चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माण मङ्सिरदेखि नै ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए।मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएको उनले बताए। अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उनले बताए।

पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन्। शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन्। यहाँका स्थानीय लमजुङ, काठमाडौँ, पोखरालगायतका स्थानतर्फ झर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

You can share this post!

Next article