जापान भुकम्प : मृत्यु हुनेकाे संख्या २००

टाेकियाे :जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् ।

भूकम्प गएको आठ दिनसम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् । इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २००  जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता  रहेको बताइएको छ ।अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो  । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू  रहेको बुझिएको छ ।

प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ ।
मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न  र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन्।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ ।  यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति  भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।

You can share this post!