संक्रमणकालीन न्यायकाे विषय साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने :काङ्ग्रेस

 नेपाली कांग्रेसले संक्रमणकालीन न्यायकाे विषय साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ। तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले सशस्त्र द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन अझै ढिलाइ गर्न नहुने भन्दै अब सबैकाे सहमतिमा संक्रमणकालीन न्यायकाे विषय टुंगो लगाउनुपर्ने निर्णय गरेको कांग्रेसकाे प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा अहिलेसम्म अवसर नपाएका तथा बिभिन्न कारणले अवसरबाट बञ्चित भएका व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ। प्रदेश कार्यसमितिको सिफारिश भएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरिएको कांग्रेसले जनाएकाे छ । बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म बैठक गर्ने निर्णय गरेको थियो।

यस्तै बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघको अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।

You can share this post!