विप्लव पुगे जन्मघर रोल्पा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी झण्डै १० वर्षपछि आफ्नो जन्मघर रोल्पाको परिवर्तन गाउँपालिका ३ केवरी पुगेका छन् । विप्लवले आफू लगायत पार्टीका २ स्थायी समिति सदस्य विषम र अनिल लगायतका नेतृत्वलाई जन्मगाउँ पुर्याएका हुन् । विप्लवको प्रवेशमासँगै स्थानीयको उत्साहजनक सहभागिता रहेको थियोे भने गाउँमा बाजागाजासहित भव्य स्वागत गरिएको थियोे । पार्टी केन्द्रीय सदस्य दिनेश विक्रम चन्द (मानव) को घरमा खानपिन र औपचारिक भेटघाटपछि महासचिव विप्लव आफ्नै जन्मघर पुगेका थिए । पारिवारिक भेटघाट र नातागोताका विचमा राजनीतिक भन्दा बढी व्यवहारिक र बाल्यकालका बिषयमा कुराकानी गरेका थिए ।

आईतवार बिहान जन्मगाउँ केवरी पुगेका महासचिव विप्लवले स्थायी समिति सदस्य विषम सी,अनिल सी, पिविएम आदर्श, विजय, असल, केन्द्रीय सदस्य सविन, मानव, सम्झना, ओरोही लगायतलाई आफ्नो खेतबारी देखाएका थिए । बाल्यकालमा खेल खेल्ने र खेतबारीमा काम गरेको अनुभव सुनाउदै आफू जन्मेको घर अहिलेसम्म पनि उस्तै रहेको भन्दै खुसी लागेको बताए । विप्लवलाई स्थानीयले फुलमाला र बाजागाजा बजाउँदै स्वागत गरिरहेका बेला कतिपय बेला भाबुक देखिन्थे ।

जन्मगाउँमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै विप्लवले स्थानीयसँग बाल्यकालको स्मरण गर्दै माया र भावना साटासाट गर्न आएको बताएका थिए । जहा भएपनि तपाईंहरूलाई सम्झिरहेको छु,धेरै समय पछि गाउँमा आएर तपाईंहरू सबैलाई भेट्दा खुसी लागेको बताए ।

You can share this post!